को होला सुदूरपश्चिमको राजधानी गोदावरीको मेयर ?
धनगढीः निर्वाचन नजिकिएसँगै उम्मेदवारी दिएर दलहरु चुनावी मैदानमा होमिएका छन्। कैलालीमा पनि चुनावी कार्यक्रमहरु तय गरी उम्मेदवारहरु अघि बढेका हुन्। सुदूरपश्चिमको स्थायी राजधानी घोषित गोदावरी नगरपालिकाको मेयर पदका लागि ९ जना चुनावी मैदानमा छन्।
गोदावरी नगरपालिकामा १२ वटा वडा छन्। प्रत्येक वडामा वडाध्यक्षसहित पाँच जना, नगर प्रमुख र उपप्रमुख गरि ६२ जना जनप्रतिनिधिका लागि वैशाख ३० मा निर्वाचन हुँदैछ। वैशाख ३० को तयारीमा निर्वाचन आयोग छ। नगर प्रमुखका लागि ९, उपप्रमुखका लागि पाँचसहित २ सय ९० जना उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सहायक निर्वाचन अधिकृत शिवराज भाटले बताए।
उनले भने, ‘तीन सय १६ जनाले मनोनयन दर्ता गर्न आएका थिए। जाँच गर्दा तीन सय ७ जना रहे। नौ जनाको बदर भयो। १७ जनाले नाम फिर्ता लिए। २ सय ९० जनाको अन्तिम उम्मेदवारी सार्वजनिक गरिएको छ। २० जना स्वतन्त्र हुन भने अन्य दलगत रुपमा चुनाव लड्दैछन्।’
उम्मेदवारहरु कार्यकर्ता तथा सहयोगीको साथमा जनताको घर–दैलोमा पुग्न थालेका छन्। उनीहरु नगरको विकास निर्माण, सुशासन, राजनीतिक अजेन्डासहित भोट मागिरहेका हुन्। गोदावरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट गोकर्ण भट्ट, नेपाली काँग्रेसबाट वीरेन्द्र भट्ट, माओवादी केन्द्रबाट विक्रम विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गाकुमार पोखरेल, लोकतान्त्रीक समाजवादीबाट फकलु चौधरी, राष्ट्रिय जनमुक्तीबाट रामबहादुर रावल, राष्ट्रिज जनमोर्चाबाट हरिकृष्ण पाण्डे तथा स्वतन्त्रमा टेकबहादुर विक र मिने मल्लेले उम्मेवदारी दिएका छन्।
राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखका उम्मेदवार हरिकृष्ण पाण्डेले नेतृत्व राम्रो भए परिवर्तन सम्भव रहेको बताए। उनले भने, ‘गोदावरी नगरपालिकामा भ्रष्टाचार छ। ८ जना अहिले पनि सस्पेन्सनमा छन्। मेरो २ मात्र अजेन्डा छ। पहिलो आर्थिक पारदर्शिता र दोस्रो सुशासन हो।’ एमालेबाट मेयरका उम्मेदवार गोकर्ण भट्टले जनताको घरदैलोमा रहेको बताए। ‘मैले गोदावरीलाई नयाँ परिवर्तनको प्रत्याभुती गराउनेछु,' उनले भने, 'शिक्षा, स्वास्थ्य, रोजगार जनताका आधारभूत बिषयमा प्रतिवद्धता गर्दै आएको छु।’
०७४ सालको निर्वाचनमा एमालेका हरिसिंह साउद ९८७० मत प्राप्त गर्दै मेयरमा विजयी भएका थिए। निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका वीरेन्द्र भट्टले ८४५७ मत पाएका थिए भने सो समयमा माओवादीबाट लडेका गोकर्ण भट्ट तेस्रो भएका थिए। काँग्रेसका वीरेन्द्र भट्ट र माओवादीबाट एमाले प्रवेश गर्दे गोकर्ण भट्ट फेरि उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनले गरेको सिट बाँडफाँडमा गोदावरीमा काँग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर लडाउने सहमति थियो। तर माओवादी र एकीकृत समाजवादीका नेताहरुले पनि त्यहाँ मेयरमा उम्मेदवारी दिएका छन्।
काँग्रेसबाट मेयरका उम्मेदवार वीरेन्द्र भट्टले सबै समुदायको प्रतिनिधित्व हुने गरि नगर विकासको काम गर्ने बताए। उनले भने, ‘म पनि कोभिडबाट पीडित भएको मान्छे हो। सबै समुदायको प्रतिनिधित्व गर्ने गरी नगरलाई अगाडि बढाउनेछु। सबैको नेतृत्व हुने गरि विकास निर्माणका काम अगाडि बढाउनेछु।’ यस्तै नगर उपप्रमुखका लागि राष्ट्रिय जनमोर्चाबाट कल्पना बराल, राप्रपाबाट खिमावेदी विष्ट, नेकपा एसबाट रतना कडायत, माओवादी केन्द्रबाट रिता खड्का र एमालेबाट शारदादेवी रोकाया चुनावी मैदानमा छन्।