कैलालीको धनगढी र अत्तरिया क्षेत्रमा रिक्सा चोरको बिगबिगी
धनगढीः कैलालीको धनगढी र अत्तरिया क्षेत्रमा रिक्सा चोरको बिगबिगी बढेको छ। गएको फागुनदेखि वैशाखको मध्यसम्म धनगढी र गोदावरीको अत्तरियाबाट एकै व्यक्तिले ९ वटा ई–रिक्सा चोरी गरेको पीडितहरुले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले एकै व्यक्तिको नाममा धनगढी र अत्तरियाबाट विभिन्न समयमा ९ रिक्सा चोरी गरेको उजुरी आएको बताएको छ। चोरी गर्ने व्यक्तिले रिक्साका ब्याट्रीलगायतका सामान झिकेर जंगलमा लगेर छोड्ने गरेको पीडितहरुको भनाई रहेको छ। ई–रिक्सामा प्रयोग हुने ब्याट्री, मोटर, कन्ट्रोल बक्स र बुफर चोरी गरेर रिक्सा लगेर जंगलमा छोड्ने गरेको अत्तरियाका रिक्सा चालक चन्द्रकला भट्टले बताए। ‘किस्तामा किनेको रिक्सा चोरी भयो, प्रहरीमा निवेदन दिएपछि जंगलमा रिक्सा भेट्टिए पनि ब्याट्रीलगायतका सामान भने लगिएको थियो,’ उनले भने, ‘रिक्सा चलाएर दैनिक खर्च धान्ने हामीजस्ता मजदूरको रिक्सा चोरी हुने कारणले निकै पीडित भएका छौँ।’
धनगढीको शिवनगरका चुन्नीलाल चौधरीले पनि फागुन ९ गते रातिको समयमा रिक्सा चोरी भएको बताएका छन्। ४ लाख २० हजारमा खरिद गरेको रिक्सा चोरी भएको डेढ हप्तापछि इलाका प्रहरी कार्यालय मालाखेतीले भेट्टाए पनि १ लाख १५ हजार मूल्यका व्याट्री, बुफर, कन्ट्रोल बक्स नभेट्टिएको उनले बताए। ‘मेरो रिक्सा पनि रातिको समयमा घरबाटै चोरी भएको हो,’ उनले भने, चोरलाई समाते पनि हामीले सामान फिर्ता पाएनौँ, तर प्रहरीले समातेको मान्छेलाई भने अहिले थुनामुक्त गरेको छ।’
गत फागुन ४ गते रातिको समयमा धनगढीको क्याम्पस रोडमा बस्ने गोपीराज जैशीको रिक्सा चोरी भयो। चन्द्रकला भट्ट र चुन्नीलाल चौधरीको रिक्सा चोर्ने व्यक्तिले नै जैसीको रिक्सा पनि चोरेको दाबी गरिएको छ। अपांगता भएका जैसीले सबै सामान चोरी भएको अवस्थामा प्रहरीले चौमालाको जंगलमा रिक्सा फेला पारेको भए पनि ब्याट्रीलगायतका सामान भने चोरले लगेको बताए। ‘म त आफैं पनि अपांगता भएको मान्छे ऋण निकालेर उपचार गरेर बचेको हुँ,’ उनले भने, ‘श्रीमतीले दैनिक रिक्सा चलाएर गुजारा चलिरहेको थियो, रिक्सा चोरी हुँदा थप ७० हजार ऋण लाग्यो।’
धनगढीको शिवनगरका डम्मर जनालाले पनि फागुन १२ गते रिक्सा चोरी भएको बताएका छन्। ईलाका प्रहरी मालाखेतीले रिक्सा फेला पारे पनि क्याट्री लगायतका सामान भने रिक्सामा नभेटिएको उनले बताए। ‘धनगढी र अत्तरियामा रिक्सा चोर्ने व्यक्तिलाई दसौँ पटक रिक्सा चोर्न लाग्दा रिक्सा चालकले नै समातेर प्रहरीलाई बुझाएका हुन्,’ उनले भने, ‘प्रहरीले हामीहरुका रिक्साबाट चोरी भएका क्याट्री लगायतका सामान बरामद पनि गर्यो तर फेरि किन हो फिर्ता गरेको छ भने चोरलाई पनि छोडेको छ, यसरी त हामीमाथि प्रहरीले पनि अन्याए गरेको भन्ने हामीलाई लागेको छ।’
लगातार धनगढी र अत्तरियाबाट ई–रिक्सा चोरी हुने क्रममा धनगढीकै अटो सोरुममा मेकानिकको काम गर्ने एक व्यक्तिलाई समातेर प्रहरीलाई बुझाइएको थियो। प्रहरीले भने रिक्सा चोरी गर्ने व्यक्तिलाई छोडेको भन्दै पीडितले गुनासो गरेका छन्। तर आरोपित विरामी परेकोले अप्रेसन गर्न अस्पताल जान दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘आरोपितको नाममा प्रहरीमा ९ जनाले उजुरी गर्नुभएको छ,’ उनले भने, ‘प्रहरीले केही समान बरामद पनि गरेको छ भने आरोपित विरामी भएकोले उपचार गर्न सरकारी वकिल कार्यालयको रोहवरमा जान दिएको हो, त्यत्तिकै छोडिएको होइन।’