बैतडीमा एमालेको प्रचारमा भारतीय गाडी प्रयोग
बैतडी: यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारका लागि बैतडीमा भारतीय भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको भेटिएको छ। नेकपा एमालेको तर्फबाट दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार रहेका दिनेशप्रसाद भट्टले आचारसंहिता विपरित भारतीय गाडी प्रयोग गरेका हुन्।
निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भएपनि भट्टले भारतीय नम्बर प्लेटको गाडीमा एमालेको चुनाव चिह्न र झण्डा राखेका छन्। निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ।
कुनैपनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको बैतडीका मुख्य निर्वाचन अधिकृत तिलक कार्कीले बताए। ‘कुनै दलका उम्मेदवारले विदेशी नम्बरको गाडी प्रयोग गर्न पाइँदैन। त्यस सम्बन्धमा बुझ्छौं’ उनले भने।