सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा यार्सा सङ्कलनका लागि अनुमति पत्र अनिवार्य 

। फोटो स्रोत ।
२०७९ वैशाख १७, ०९:०० खबर संवाददाता

धनगढी : दार्चुलामा यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति पत्र लिनुपर्ने भएको छ। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख गणेश पौडेलले संरक्षण क्षेत्रभित्र यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिन सार्वजनिक सूचना जारी गरिएको बताएका छन्।

हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीका रुपमा रहेको यार्सागुम्बा सङ्कलनका लागि अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय खलंगा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, खार रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमति पत्र वितरण भइरहेको पौडेलले बताए। वैशाख १५ गतेदेखि अनुमति पत्र वितरण सुरु भइसकेकोमा यार्सागुम्बा संकलनको अवधि जेठ दोस्रो हप्तादेखि असारसम्म बढीमा ३० दिन तोकिएको छ।

यार्सा पाटनमा अनुगमन समेत गरिने भएकाले अनिवार्यरुपमा अनुमति पत्र लैजान अनुरोध गरिएको छ। अनुमतिबिना यार्सागुम्बा संकलन र ओसारपसार गरेमा यार्सागुम्बा जफत गरी कानुनबमोजिम कारबाही गरिनुका साथै यार्सा पाटन प्रवेश गर्दा हातहतियार साथमा लैजान तथा खुला रुपमा दिशापिसाब गर्न नपाइने र संकलन अवधिमा कुनै वनपैदावारको हानी नोक्सानी तथा वन्यजन्तुको चोरी सिकार गरेमा कानुनबमोजिम कारबाही गरिने संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस