कञ्चनपुरमा पालिका प्रमुख र उपप्रमुखमा १० जनाले लिए उम्मेदवारी फिर्ता
कञ्चनपुरः कञ्चनपुरमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका १० जना प्रमुख उपप्रमुखले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख र उपप्रमुखका ५/५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
भीमदत्त नगरपालिकामा उपप्रमुखमा बागी उम्मेदवारी दिएकी नितु भण्डारीले उम्मेदवारी फिर्ता लिएकी छिन्। भीमदत्त नगरपालिकामा उपप्रमुखका उम्मेदवार ईश्वरी भट्टले पनि उम्मेदवारी फिर्ता लिएका हुन्। यसैगरि बेदकोटमा बागी उम्मेदवारी दिएका सुरेन्द्र केसीले प्रमुखबाट उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत मदनसिंह धामीले बताए।कृष्णपुर नगरपालिकामा प्रमुखका उम्मेदवार रामदत्त भट्ट र उपप्रमुखकामा चन्द्र कुमारी भण्डारीले उम्मेदवारी फिर्ता लिएकी छन्।
दोधारा चाँदनी नगरपालिकामा पनि प्रमुखमा कृष्णप्रसाद जोशी र उपप्रमुखबाट धनबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन्। पुनर्वास नगरपालिकामा प्रमुखबाट किरण चन्दले उम्मेदवारी फिर्ता लिएका छन्। बेलडाडी गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाका प्रमुखका उम्मेदवार अभिमानसिंह थापा र उपप्रमुखका उम्मेदवार रोशना थापाले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।