डडेल्धुरामा बिपी काँग्रेसबाट उम्मेदवारी दिनेमाथि कारबाहीको तयारी
डडेलधुराः नेपाली काँग्रेसले डडेल्धुरामा एमालेसँग तालमेल गरी उम्मेदवारी दर्ता गराएका पार्टीका नेता–कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ। मंगलबार पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित गरेको काँग्रेसले बागी उम्मेदवारलाई मनोनयन फिर्ताको आग्रह गरेको हो।
डडेल्धुराका बागी उम्मेदवारलाई यही १६ गतेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उम्मेदवारी फिर्ताका लागि पार्टीका शीर्ष नेताले पनि आह्वान गरेको उनले बताए। उनीहरुले १६ गतेसम्म उम्मेदवारी फिर्ता नलिए भने पार्टी विधानअनुसार पाँच वर्षसम्म काँग्रेसको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिने पौडेलले बताए।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेस बिपीका नाममा काँग्रेसको असन्तुष्ट पक्षले एमालेसँगको तालमेलमा पालिका र वडामा बागी उम्मेदवारी दिएको थियो। अमरगढी नगरपालिकामा काँग्रेस बिपीबाट प्रमुखमा काँग्रेस बिपीबाट हरिप्रसाद भट्ट मनोनयन दर्ता गरेका थिए। यस्तै बिपी काँग्रेसबाट अजयमेरु गाउँपालिकामा उपाध्यक्षमा रामचन्द्र ऐर, गन्यापधुरा गाउँपालिकाका अध्यक्षमा सुरेन्द्र माली, भागेश्वर गाउँपालिका उपाध्यक्षमा नरबहादुर ठकुराठीले मनोनयन दर्ता गराएका थिए।
कर्णबहादुर मल्लका अनुसार २१ वटा वडामा बिपी काँग्रेसबाट उम्मेदवारी दर्ता गरिएको छ। यस्तै उम्मेदवारी फिर्ता नहुने मल्लले बताए।