सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनले भन्यो-लम्कीको मेयरमा शाही र घोडाघोडीको उपमेयरमा गुलिया आधिकारिक उम्मेदवार

फाइल फोटो
फाइल फोटो
२०७९ वैशाख १४, ०१:०८ खबर संवाददाता

धनगढीः कैलालीमा तीन दलिय गठबन्धनले आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ। गठबन्धनले बुधबार एक विज्ञप्तीमार्फत आधिकारिक उम्मेदवार सार्वजनिक गरेको हो। 

जसअनुसार गठबन्धनले उम्मेदवारी विवाद देखिएका पालिकामा पनि उम्मेदवारहरुको टुंगो लागेको जनाएको छ। यसअघि जिल्लाको लम्कीचुहा नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाटै २ जनाको उम्मेदवारी परेको थियो। लम्कीचुहाको मेयरमा भक्तबहादुर थापा र शुशीला शाहीले उम्मेदवारी समेत दर्ता गराएका थिए। तर, गठबन्धनले भने शुशीला शाही नै आधिकारिक उम्मेदवार भएको बताएको छ। गठबन्धनले सार्वजनिक गरेको सूचीमा पनि शाहीकै नाम रहेको छ।

यस्तै घोडाघोडी नगरपालिकाको उपमेयरमा पनि गुलिया चौधरी नै आधिकारिक उम्मेदवार भएको गठबन्धनले जनाएको छ। घोडाघोडी र लम्कीचुहामा कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र प्रदेश सभापति वीरबहादुर बलायरले फरक-फरक ब्यक्तिलाई टिकट दिएपछि आधिकारिकतामा विवाद देखिएको थियो। घोडाघोडी नगरपालिकाको उपमेयरमा बलायरले रिता चौधरी र देउवाले गुलिया चौधरीलाई टिकट दिएपछि आधिकारिक उम्मेदवारको विषयमा समस्या देखिएको थियो। कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले लम्की–चुहामा सुशीला र घोडाघोडीमा गुलिया नै पार्टीको आधिकारिक उम्मेदवार भएको बताए।

अहिले उक्त विवाद नरहेको कैलाली कांग्रेसले जनाएको छ।

कमेन्ट लोड गर्नुस