बैतडीमा मतदानस्थल र केन्द्रको निरीक्षण गरिँदै
धनगढी : बैतडीका मतदानस्थल र मतदान केन्द्रको निरीक्षण गर्न थालिएको छ। आसन्न स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा कायम गर्नका लागि निरीक्षण गर्न थालिएको हो।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार जिल्लाको सुर्नया र डिलाशैनी गाउँपालिकामा रहेका केही मतदानस्थल र मतदान केन्द्रको निरीक्षण गरिसकिएको छ। सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशीलको सूचीमा रहेका मतदान केन्द्र र मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन, निरीक्षण गर्ने काम भईरहेको भारतीले बताए।
बैतडीका १२९ मतदानस्थलमध्ये सुरक्षाको दृष्टिकोणले ३१ ओटा मतदानस्थल अति संवेदनशील, ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशीलको सूचीमा रहेका बताइएको छ। बैतडीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि १२९ मतदानस्थल र २०५ मतदान केन्द्र कायम गरिएका छन्।