बझाङ गठबन्धनमा असन्तुष्टि, माओवादीको सिंगै वडा कमिटीद्वारा सामूहिक राजीनामा
स्वतन्त्ररुपमा चुनाव लड्ने घोषणा
धनगढीः बझाङको छविसपाथिभेरा–७ मा वडाको भागबण्डा नमिल्दा गठबन्धनमा असन्तुष्टि पैदा भएको छ। माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसहित वडानं ७ को पुरै वडा कमिटीले पार्टीबाट सामूहिक राजीनामा दिएको छ। आजै स्वतन्त्ररुपमा चुनाव लड्न उम्मेदवार घोषणा समेत गरेको छ।
माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामी, जिल्ला कमिटी सदस्य पदम बहादुर मण्डेलसहित ४८ जना नेता कार्यकर्ताले आईतबार पार्टीबाट अलग भएको घोषणा गरेका छन्। आजै स्वतन्त्र तर्फबाट विजय धामी वडाध्यक्षको उम्मेदवार घोषणा भएका छन्। स्वतन्त्रबाट वडा सदस्यमा जहरे धामी, गोकर्ण मण्डेल र कोषा महत उम्मेदवार बनेका छन्।
वडानं ७ माओवादी केन्द्रको आधार इलाका मानिन्छ। ७४ को चुनावमा माओवादी केन्द्रका उम्मेदवार पदम मण्डेलले वडाध्यक्ष निर्वाचित भएका थिए। वडानं ७ मा वडाध्यक्ष माओवादीलाई दिनुपर्ने अडान यहाँका नेताहरुले लिएका थिए। भागबण्डामा वडानं ७ काँग्रेसलाई दिइएपछि माओवादी पंक्तिले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हो।