सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा तालमेलः सहमतिको अन्तिम कसरत, गठबन्धनका नेताहरु छलफलमा 

२०७९ वैशाख १०, ०१:२५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा गठबन्धनका दलहरु चुनावी तालमेलबारे सहमतिको वातावरण मिलाउन अन्तिम प्रयासमा जुटेका छन्। भागबण्डामा कुरा नमिलेको अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिसमेत गरिसकेका दलहरू अन्तिम प्रयासमा जुटेका हुन्।

धनगढीमा शुक्रबार राति गठबन्धनको प्रदेश स्तरीय बैठक बसेको थियो। तर, सो बैठक निष्कर्षविहीन भएपछि शनिबार फेरि बिहानैदेखि नेताहरूले पुनः छलफल थालेका छन्। तर प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी र समाजवादीले आ-आफ्नै अडान कायम राख्दा सहमतिमा अड्चन देखिएको नेताहरूले बताएका छन्।

कैलाली, कञ्चनपुर, अछाम र डोटीमा गठबन्धनको जिल्लास्तरीय नेतृत्वले सहमति हुन नसकेपछि भागबण्डा टुङ्ग्याउने जिम्मा प्रदेशलाई दिइएको थियो। तर प्रदेशस्तरमा समेत सहमति हुन सकिरहेको छैन। सुदूरपश्चिमका ९ जिल्लामध्ये प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ भने दार्चुला, बझाङ, बाजुुरा र बैतडीमा तालमेल गर्ने निर्णय गरिएको छ।

यी बाहेकका चार जिल्ला कैलाली, कञ्चनपुर, डोटी र अछाममा सहमति हुन नसकेका कारण तालमेलबारेको निर्णय गर्ने जिम्मा प्रदेशलाई दिइएको थियो।

कमेन्ट लोड गर्नुस