सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राधिकरणको लापर्बाहीले सुदूरपश्चिमवासी हैरान, चर्को गर्मीमा हुँदैन बिजुली

२०७९ वैशाख ९, ०७:१३ कमल सावद

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका आरएन चौधरी प्राविधिक पेशामा छन्। उनी प्रिन्टर मर्मतको काम गर्दै आएका छन्। धनगढीमा विद्युत आउने र जाने गर्दै आएकाले उनी हैरान भएका छन्। प्रिन्टर मर्मतका लागि बिजुली अनिवार्य भए पनि विद्युत आउने–जाने हुँदा उनी हैरान भएका हुन्। उनले भने, ‘प्रिन्टर मर्मतका लागि बिजुली चाहिन्छ। बिजुली गएको गयै हुन्छ। हैरान बनाएको छ। पहिलाभन्दा बढी जाने गरेको छ।’

सुदूरपश्चिम प्रदेशमा अनियमित विद्युत कटौती नरोकिएको हो। प्रदेशमा आवश्यक बिजुलीअनुसार आपूर्ति नभएकाले विद्युत काटिने गरिएको छ। धनगढी सहितका मुख्य सहरमा विद्युतको मागअनुसार आपूर्ति नहुने समस्या छ। बस्ती बिस्तारसँगै विद्युतका उपकरणहरुको क्षमता विकास नहुँदा विद्युत आउने र जाने समस्या रहेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए।

उनका अनुसार गर्मी मौसम सुरु भएसँगै विद्युत कटौतीको समस्या पनि बढेको हो। उनले भने, ‘प्राविधिक समस्या छ। कहिलेकाही बन्द हुने। गर्मीले पानी कम भएर, लोड पुगेको छैन। टनकपुरबाट आउदा ओभार लोड हुन्छ। यस्तो हुँदा सिस्टम बचाउन काट्नुपर्ने हुन्छ। अरु समस्या छैन। अत्याधिक गर्मीका कारण लोडसेडीङ्ग बढेको हो।’

गर्मीको समयमा विद्युत आपूर्तिमा सबैभन्दा बढी समस्या आउने गरेको छ। गर्मी मौसममा विद्युतको माग बढी हुने, बढी तापक्रमले तारहरु तन्किने, क्षमताभन्दा बढी विद्युत माग हुँदा ट्रान्सफर्मरमा क्षति हुने गरेको छ। तर विद्युत प्राधिकरणसँग प्राविधिक कर्मचारीको अभाव छ।

प्रदेशमा कर्मचारी भर्ना तथा पदपूर्तिको अधिकार नभएकाले गर्मी मौसममा खराब भएका उपकरण मर्मतमा समय लाग्दै आएको दाबी गरिएको छ। ‘गर्मीमा भोल्टेज कम हुने समस्या हुन्छ,झ प्रादेशिक प्रमुख चन्दले भने, ञप्राविधिक कर्मचारीहरु कम छन्। कर्मचारी केन्द्रले थप्ने हो। लाइन बिस्तारका लागि जनशक्ति बढी चाहिने हुन्छ।’

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस