डडेल्धुराको अजयमेरुमा अध्यक्षका लागि काँग्रेस नेतृ विष्टको दाबी
डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिको अध्यक्षमा नेपाली काँग्रेसकी नेतृ कमला बिष्टले दाबी गरेकी छन्। काँग्रेसको भातृ संगठन महिला संघकी अध्यक्ष भइसकेकी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवार भएर आउने जानकारी गराएकी हुन्। उनले लेखेकी छिन्, ‘पटक–पटक राजनीतिक प्रहारका बावजुत पनि जनताको मायाले जनताको ताकÞतले संघर्षरत छु र सदैव संघर्षरत रहनेछु। हजुरहरुको साथ र सहयोगको अपेक्षाका साथ अजयमेरु गाउपालिकाको अध्यक्षको उम्मेदवार भएर आउँदैछु।’
अघिल्लो स्थानीय तहको निर्वाचनमा अजयमेरुमै टिकट पाएर उपाध्यक्ष पदमा लडेकी उनी काँग्रेसबाटै बागी उम्मेदवार उठेकाले हारेकी थिइन्। यसपटक भने भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने ध्येयका साथ घरदैलो अभियानमा लागिसकेकी उनी अध्यक्ष पदमा जित्ने दाबी गर्छिन्।
करिब २० वर्षदेखि सक्रिय राजनीतिमा लागेकी उनको क्रियाशील सदस्यता यसपालि केन्द्रबाटै काटिएको थियो। उनीसहित ४ सय ४४ जनाको नाम क्रियाशीलबाट हटाइएपछि २ उपगुटमा बाँडिएको काँग्रेस डडेल्धुरामा झनै भाडभैलौ भएको थियो। सदस्यता काटेर ३१२ सदस्यता केन्द्रबाटै थपेर एकलौटी रुपमा जिल्ला अधिवेशन गरेको भन्दै तत्कालिन जिल्ला सभापति कर्णबहादुर मल्ल समूह झनै रुष्ट छ।
उसो त पहिलैबाट जिल्लामा नेपाली काँग्रेस २ समूहमा विभाजित छ। सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका कर्ण मल्ल पक्षमा रहेकी उनले आफूले टिकेट नपाएको खण्डमा नेपाली काँग्रेस (विपी) बाट चुनाव लड्ने बताइन्। ‘हामी १० गतेसम्म हेर्छौ। त्यतिबेलासम्म केन्द्रले हामीलाई न्याय देला भन्ने आशा छ। यदि त्यसो हुन सकेन भने हामी गाउँगाउँ गएर जनमत संकलन गर्छौ’ उनी भन्छिन्, ‘जनमतका आधारमा हामी नेपाली काँग्रेस (विपी)को चुनाव चिह्न करुवा बोकेर ७ ओटै पालिकामा चुनाव लड्छौं।’
यो पनि:
कार्यसम्पादनमा देशकै पहिलो बनेको अजयमेरुमा पुनः भट्ट उम्मेदवार