सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मेयरको उम्मेदवार बन्न १४ नेताको दौडधुप

सुदूरपश्चिममा गठबन्धनलाई सिट बाँडफाँडमा सकस

२०७९ वैशाख ७, ०१:५५ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा मेयरको टिकटका लागि नेताहरुबीच हानथाप हुन थालेको छ। काँग्रेसबाट सात, एमालेबाट तीन, एकीकृत समाजवादीबाट तीन र माओवादीबाट एक गरी १४ जना नेताले मेयरको उम्मेदवार बन्न दौडधुप गरिरहेका छन्। काँग्रेसबाट अहिलेका मेयर नृपबहादुर वड, नेता कृष्णबहादुर महरा, पूर्ण कुँवर, हरिश खड्का, यज्ञराज उपाध्याय, जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले मेयरका लागि आवेदन दिएका छन्। 

माओवादी केन्द्रले शान्ति अधिकारीलाई सिफारिस गरेको छ भने एकीकृत समाजवादीले मदन रेग्मी, लोकबहादुर खत्री र लोकेन्द्र बानियालाई सिफारिस गरेको छ। सत्ता गठबन्धनमा सहमति भए धनगढीमा मेयर काँग्रेसले पाउने लगभग तय छ। उपमेयर भने माओवादी केन्द्रले पाउने सम्भावना बलियो रहेको सत्ता गठबन्धनमा आवद्ध दलहरुमा चर्चा छ। यस्तै नेकपा एमालेले रणबहादुर चन्द, दुर्गा जोशी र जिवन बमको नाम मेयरको उम्मेदवारका लागि सिफारिस गरेको छ। धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि चुनावी अभियानमा व्यस्त छन्।

सुदूरपश्चिममा गठबन्धनलाई सिट बाँडफाँडमा सकस

सुदूरपश्चिमका ८८ स्थानीय तहको निर्वाचन लड्न आकाङ्क्षी बढ्न थालेपछि दलहरुलाई उम्मेदवार टुंगो लगाउन सकस भएको छ। आकाङ्क्षीले आफ्नो पार्टीको शीर्ष नेताहरूसँग बाक्लो सम्पर्क बढाउन थालेका छन् भने नेतृत्वलाई उम्मेदवार टुंगो लगाउन सकस भइरहेको हो। सत्ता गठबन्धनमा आवद्ध पाँच दलले चुनावी तालमेल गर्ने सहमति गरेका छन् तर कुनै पनि स्थानीय तहमा सिट बाँडफाँडमा कुरा मिलेको छैन। 

०७४ को निर्वाचनमा जितेका स्थान सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका पदमा मतभारका आधारमा भागबन्डा गर्ने गरी तालमेलको आधार टुंगो लगाइएको थियो। तर गठबन्धनमा आबद्ध दलहरूबीच कुनै पनि जिल्लामा नेतृत्व भागबन्डामा सहमति जुटेको छैन। कैलाली र कञ्चनपुरमा सत्ता गठबन्धनको भागबण्डा गर्ने जिम्मा प्रदेशलाई दिइएको छ। डोटीमा केन्द्रबाटै सिट बाँडफाँड गरेर मिलाउन जिल्लाले आग्रह गरेको छ भने बैतडीका सात पालिकामा मित्रवद प्रतिस्पर्धा र अन्य पालिकामा तालमेल गर्ने सहमति भएको छ।

अन्य जिल्लामा तालमेलको सम्भावना कम हुँदै गएपछि गठबन्धनमा आबद्ध दलका स्थानीय कमिटीले उम्मेदवारका आकाङ्क्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गरी पठाउने कार्य गरिरहेका छन्। गठबन्धनको प्रक्रियाका कारण अझै पनि साझा सहमति हुन नसकेको माओवादी केन्द्र कैलालीका जिल्ला समन्वय समिति संयोजक लाजुराम चौधरीले बताए। ‘गठबन्धनको जिल्ला संयन्त्रले टुंग्याउन सकेन भने प्रदेश संयन्त्रले टुंग्याउँछ,’ उनले भने, ‘प्रदेशले पनि सकेन भने केन्द्रीय संयन्त्रणले टुंग्याउँछ। केन्द्रले पनि सकेन भने त गठबन्धन नै सकियो भन्ने हुन्छ।’ सिट बाँडफाँडका लागि पालिकास्तरबाटै नै छलफल भए पनि अहिलेसम्म ठोस रुपमा टुंगोमा पु¥याउन नसकिएको उनले बताए।

प्रदेशमा सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा पनि गठबन्धनमा सिट बाँडफाँडको कुरा मिलेको छैन। पटकपटक बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसकेपछि गठबन्धनको प्रदेश समितिलाई बाँडफाँडको जिम्मा दिइएको छ। जिल्लाका १३ स्थानीयतहमध्ये कांग्रेसले ११, माओवादीले ७ र समाजवादीले पाँचवटा तहको नेतृत्व दाबी गरेका छन्। सत्ता गठबन्धनका कारण अहिले नेपाली काँग्रेस कुनै टुंगोमा नपुगेको नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए। ‘छलफल भइरहेको छ तर टुंगोमा पुग्न सकिएको छैन,’ उनले भने, ‘११ गते मनोनोयन भएकाले एक÷दुई दिनभित्रै टुंगोमा पुगिन्छ।’

नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाइसकेको केन्द्रीय सदस्य राजेन्द्र रावलले बताए। ‘सुदूरपश्चिममा लगभग उम्मेदवारको टुंगो लगाइसकेकोछ। एक÷दुई दिनभित्रै एकैपटक सूची सार्वजनिक गरिनेछ,’ उनले भने।
 

कमेन्ट लोड गर्नुस