सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट निर्वाचनमा सहभागी हुने तेस्रो लिङ्गीको संख्या न्यून 

२०७९ वैशाख ५, ०५:४८ कमल सावद

धनगढीः कैलालीको लम्कीका मोनिका शाही तेस्रो लिङ्गी हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश सदस्य रहेकी उनी लम्कीचुहा नगरपालिकाको मेयरकी आकांक्षी पनि हुन्। प्रदेशका अन्य तेस्रो लिङ्गी भन्दा राजनीतिमा पहुँच भएकी उनी पार्टीबाट मेयरका लागि टिकट पाउनेमा भने अझै ढुक्क छैनन्। उनले भनिन्, ‘मेरो इच्छा मेयरका लागि हो लम्कीबाट। हाम्रो समुदायबाट राजनीतिमा चासो लिने म नै हो। अरु भने आफ्नो परिचय घरपरिवारमा पनि दिन सकिरहेका छैनन्। चुनावमा लड्ने कुरा पर जावस्।’

सुदूरपश्चिम प्रदेशमा रहेका तेस्रो लिङ्गी तथा अल्पसंख्यकहरु अझै समाजमा खुल्न सकेका छैनन्। सोही कारणले पनि तेस्रो लिङ्गीहरुको निर्वाचनमा सहभागिता न्यून छ। २०७४ को स्थानीय तहको निर्वाचन भन्दा २०७९ को निर्वाचमा तेस्रो लिङ्गी मतदाताको संख्या बढेको देखिएपनि प्रदेशका सबै तेस्रो लिङ्गीले भने निर्वाचनमा भाग लिन नपाउने भएका छन्।

निर्वाचन आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका निमित्त प्रमुख प्रेम भट्टले सुदूरपश्चिम प्रदेशमा धेरै संख्यामा तेस्रो लिङ्गी भएपनि मतदाता नामावलीमा थोरैको मात्र नाम समावेश भएको बताए। उनले भने, ‘हाम्रोमा १८ जना अन्य समूदायको नाम दर्ता भएको छ। कैलालीको ११ जना रहेको अवस्था छ। विगतको तुलनामा धेरै भएपनि उलख्य बढेको देखिएको छैन।’ 

भट्टका अनुसार प्रदेशमा अन्य समूहका मतदाताको संख्या धेरै छ। तर उनीहरु सबैले मतदानको अधिकार पाएका छैनन्। ‘नागरिकता प्राप्तिमा दुविधा भएकाले समस्या भएको हो। सोही कारणले पनि मतदाता नामावलीमा उहाँहरुको नाम छैन्,’ निमित्त प्रमुख भट्टल भने। 

तेस्रो लिङ्गीहरु समाजमा खुलेर आउन नसक्ने भएकाले राजनीतिक दलहरुले उनीहरुलाई पत्याउने गरेको छैनन्। स्थानीय तहको निर्वाचनमा पनि सोही कारणले तेस्रो लिङ्गीको सहभागिता न्यून देखिदै आएको हो।  मतदानका लागि निर्वाचन आयोगमा नामसमेत दर्ता गर्ने तेस्रो लिङ्गीको संख्या सुदूरपश्चिममा न्यून रहेकाले कुनै पनि पदमा उनीहरुको उम्मेवदारी नहुने निश्चित जस्तै देखिएको छ।

तेस्रो लिङ्गी मोनिका शाहीले राज्यको कमजोरीका कारण तेस्रो लिङ्गी मतदानको अधिकारबाट बञ्चित भएको बताउँछिन्। ‘तेस्रो लिङ्गी प्रहरी, लोकसेवामा लड्न चाहन्छन्। तर सरकारले त्यो कोटामा विज्ञापन खोलेको छैन। राजनीतिमा पनि उहाँहरुको पहुँच छैन,’ उनले भनिन्।

तथ्यांक अनुसार प्रदेशभित्र तेस्रो लिङ्गीको संख्या १८ जना मात्रै छ। २०७४ को निर्वाचनमा यो संख्या अझै काम थियो। तर समाजमा नखुलेका कारण कयौं तेस्रो लिङ्गीको तथ्यांक छुटेको अधिकारकर्मी बताउँछन्। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस