सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएनएसडब्ल्यूएद्वारा गड्डाचौकी नाकामा विभिन्न भौतिक संरचनाको निर्माण कार्य सुरू

२०७९ वैशाख ५, ०४:३० खबर संवाददाता

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले गड्डाचौकी नाकामा खानेपानीको धारा, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय, स्तनपान केन्द्र तथा प्रतिक्षालय लगायतका भौतिक संरचनाहरूको निर्माण कार्य सुरू गरेको छ। ‘कोभिड–१९ विरूद्ध द्रुत प्रतिक्रिया र पूर्वतयारी निम्ति आइसोलेशन केन्द्र र सीमानाकाको सवलीकरणमार्फत प्रभावकारी केश व्यवस्थापन’ परियोजनाअन्तर्गत सोमबार निर्माण कार्यको शुभारम्भ भएको हो। 

यो परियोजना युरोपेली आयोग डीजीइकोको आर्थिक सहयोग, अन्तर्राष्ट्रिय आप्रवासन संगठन(आइओएम) को कार्यान्वयन तथा सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रिय (एससीआई) को साझेदारीमा एनएनएसडब्ल्यूएद्वारा सञ्चालन भइरहेको छ। 
यस परियोजनाअन्तर्गत गौरिफन्टा नाकामा पनि खानेपानीको धारा, लैङ्गिक तथा अपाङ्ग मैत्री शौचालय, स्तनपान केन्द्र तथा प्रतिक्षालय बन्ने भएको छ। दुवै नाकामा दीपिन बिल्डर्स प्रालिले निर्माणको ठेक्का पाएको छ।

निर्माण कम्पनीले सोमबार  एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशन अशोक बिक्रम जैरू, गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज तर्कराज भट्ट, आर थ्री ईन्जिनियरिङ कन्सल्टेन्सीका प्रवन्ध निर्देशक कमल बिक, सब–ईन्जिनियर प्रमोद शाह लगयतको उपस्थितिमा गड्डाचौकी नाकामा लेआउट तयार गरि निर्माण कार्यको थालनी गरेको हो।   निर्माण कम्पनीका प्रबन्ध निर्देशक दीपिन कार्कीले निर्माण कार्यको थालनी भइसकेको र तीव्र गतिमा काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। 

गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज तर्कराज भट्टले एनएनएसडब्ल्यूएले परियोजनाअन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको र अहिले भौतिक संरचना निर्माण गर्न लागेकोमा आभार प्रकट गरेका छन्।     

सुदूरपश्चिम प्रदेको भीमदत्त नगरपालिका, गड्डाचौकी नाका, पुनर्वास नगरपालिका र गौरीफन्टा नाकामा यो परियोजना केन्द्रीत रहेको छ। परियोजनाअन्तर्गत भीमदत्त नगरपालिका, गड्डाचौकी नाका, पुनर्वास नगरपालिका, र गौरीफन्टा नाकामा स्वास्थ्य सामग्री  हस्तान्तरण गरिसकिएको छ। भने, कोरोनासम्बन्धी जनचेतनाका लागि एलइडी डिस्प्ले बोर्ड जडान गरिएको छ। वाईफाई (इन्टरनेट) को सुविधा पनि राखिएको छ। साथै सुरक्षा संवेदनशीललाई मध्यनजर गरि ४ थान सीसीटीभी क्यामरा जडान गरिएको छ। त्यसैगरी आप्रवासीहरूका गुनासा सम्बोधन गर्न सुझाव पेटिका राखिएको छ।

परियोजनाको मुख्य उद्देश्य कोभिड–१९ को सन्दर्भमा आइसोलेशन र सीमानाकाको सुधारिएको क्षमताद्वारा ९ लाख २२ हजार ४१९ आप्रवासीहरूको नियमित यात्रालाई सहज र सुरक्षित बनाउनु रहेको छ।
 

कमेन्ट लोड गर्नुस