सुदूर नेपाललाई विश्वसँग जोड्दै

ढुक्कसँग दाहसंस्कार गर्न पाउँदैनन् कञ्चनपुरवासी, ब्यारेज खोलेर शव बगाइदिन्छ भारत

२०७९ वैशाख ४, ०६:४५ नारायण अवस्थी

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ देखि १३ र दोधारा चाँदनी नगरपालिका महाकाली नदी तटीय क्षेत्र हुन्। भीमदत्त नगरपालिकातर्फको ती विभिन्न स्थानमा आर्यघाट रहेका छन्। तर ती आर्यघाटमा अन्तिम संस्कार गर्न निकै समस्या हुने गरेको छ।

 महाकाली नदीको बनबासामा रहेको शारदा ब्यारजेभन्दा दक्षिणतर्फ पूर्वी किनारमा रहेका आर्यघाटमा निर्धक्क भएर दाहसंस्कार गर्न नपाइने पो हो कि भन्ने चिन्ता मृतकका आफन्तले गर्नुपर्छ। त्यो चिन्ताको कारण भारतीय पक्षले दाहसंस्कार गर्न लाग्दा अकस्मात शारदा ब्यारेजका ढोका खोल्ने र बन्द गर्नु हो। 

दाहसंस्कार गर्दा भारतीय पक्षले कहिले शव नजल्दै बगाउने गरी शारदा ब्यारेजका पूर्वी ढोका खोल्ने गरेको दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय नवराज अवस्थीले दिनेशखबरलाई बताए। ‘कहिले त पूरै पानी बन्द गरेर तिलाञ्जली दिनसमेत नपाइने अवस्था सिर्जना गर्ने गरेको हुन्छ। यहाँको दुःखदायी अवस्था शब्दमा बयान गर्न नसकिने छ।’ 

महाकाली नदीमा कञ्चनपुर मात्रै होइन कैलालीबाट समेत मृतकका आफन्त दाहसंस्कार गर्न पुग्ने गरेका छन्। तर चिता तयार गर्दा नदीको भङ्गालोमा भएको पानी जलाउँदासम्म सुकिसकेको हुन्छ। यसैगरी थोरै मात्रामा भएको पानी जलाउँदा जलाउँदै अकस्मात बढेर चिता बग्ने गरेको छ। 

सनातन परम्पराअनुसार दाहसंस्कार नदीमै गर्नुपर्ने हुन्छ। तर शारदा ब्यारेजको चाबी समातेर बसेको भारतीय पक्षले दुःख दिने नियतीले समस्या भइरहेको छ। महाकाली नदीमा हिन्द्ु धर्म अनुसार दाहसंस्कार गर्न निकै समस्या रहेको भीमदत्त नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णसिंह देउवाले बताए। ‘पानीको नजिकमा दाहसंस्कार गर्नुपर्ने तर शारदा ब्यारेजमा पानी जतिबेला मन लाग्यो खोल्ने बन्द गर्ने गर्छन्’, उनले भने, ‘हिन्दु परम्पराअनुसार दाहसंस्कार गर्न समस्या भएको गुनासो सबैले गर्ने गरेका छन्।’

महाकालीलाई पवित्र नदी मानेर अन्तिम संस्कार गर्न त्यँही लैजाने गरेको भए पनि भारतीय ज्यादती भने रोकिएको छैन। आफ्नै नेपाली भूमिमा धार्मिक विधि र मान्यताअनुरुप दाहसंस्कार गर्न नपाएको पीडा हरेकजसो मृतकका आफन्तको छ। पूर्णरुपले शव नजल्दै महाकालीको पानी अकस्मात उर्लेर आउने र मृतकको शरीर नजलेर बगेको टुलुटुलु हेर्नुपर्ने बाध्यता हरेक दिन दोहरिने गरेको भीमदत्त नगरपालिका वडा नम्बर १३ का स्थानीय मोहन साउँद बताउँछन्। ‘महाकाली नदीमा मृतक आफन्तको दाहसंस्कार गर्न निकै कठिन छ’ उनले भने।  

भीमदत्त नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णसिंह देउवाले महाकाली किनारमा व्यवस्थित आर्यघाट निर्माण गरेर अन्तिम संस्कार गर्न सहज बनाउने प्रयास थालिएको बताएका छन्।   

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस