मन्त्री बनेपछि गृह जिल्ला पुगेका बोहरा भन्छन्– नमुना काम गरेर देखाउँछु
डडेल्धुरा : सुदूरपश्चिम प्र्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले आफ्नो कार्यकालमा नमुना कार्य गरेर देखाउने बताएका छन्। दुई साताअघि मात्रै मन्त्री बनेका बोहराले आइतबार गृहजिल्ला डडेल्धुरा पुगेर स्वास्थ्य र शिक्षाका क्षेत्रमा प्रदेशका ९ ओटै जिल्लामा नमुना कार्य गर्ने बताएका हुन्। त्यसका लागि पहिलो चरणमा मन्त्रालयका कर्मचारीसँग नीतिगत बहस गरिएको उनले बताए।
शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने उद्देश्यले जनतामुखी बजेट ल्याउन सबैक्षेत्रका विज्ञसँग छलफल गरिरहेको मन्त्री बोहराले जानकारी दिए। उनले आर्थिक अवस्थाका कारण उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता हटाउन प्रदेशवासीको निःशुल्क स्वास्थ्य विमा गर्ने समेत बताए।
मन्त्री बनेपछि पहलोपटक डडेल्धुरा पुगेका उनलाई गृहजिल्लावासीले अभिनन्दन गरेका छन्। अमरगढी नगरपालिका–३ चमसाल घर भएका मन्त्री गोविन्दराज बोहरालाई बाजागाँजासहित खाँदामाला लगाएर स्वागत गरिएको थियो।