चार जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६३४ पुगेको छ।
एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५८ रहेको छ। पछिल्लो समय थप ४४ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार २०४ पुगेको छ। निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।
पछिल्लो समय कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ। त्यसैगरी, पछिल्लो समय ६१ हजार २७८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७९ रहेको छ। अहिले होम आइसोलेसनमा ४५५ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा २४, आइसियुमा १२ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्।