सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ वर्षले राजनीतिक र सामाजिक क्षेत्रमा सुधार ल्याउने अपेक्षा

२०७९ वैशाख १, ०६:३० नारायण अवस्थी

धनगढी: बिहीवार २०७८ साललाई विदाई गरिएको छ। अहिले नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान गर्ने क्रम चलेको छ। नयाँ वर्ष २०७९ ले समाजका सबै क्षेत्रमा सहज वातावरण निर्माण होस् भन्ने कामना सर्वसाधारणले गरेका छन्। 

२०७८ मा कोभिड महामारी, राजनीतिक अस्थिरता र आर्थिक मन्दीको कारण समस्या भोग्नु परेको भए पनि नयाँ वर्ष आर्थिक विकास, सामाजिक एकता र राजनीतिक स्थिरताको वर्ष हुन सकोस् भन्ने कामना धनगढीका स्थानीय यमनाथ सिग्देलको छ। ‘यो वर्ष वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। यो वर्षको निर्वाचन राष्ट्रिय पर्वको रुपमा सम्पन्न होस् र स्वच्छ छविको नयाँ नेतृत्व चुनावबाट स्थापित होस् भन्ने मेरो कामना छ’ उनले भने। 

नयाँ वर्ष २०७९ ले सबैलाई हातेमालो गर्दै अगाडि बढ्ने शक्ति देओस् भन्ने कामना अर्का स्थानीय श्यामकृष्ण खतिवडाको छ। उनी भन्छन्, ‘नयाँ वर्षले सक्नेले नसक्नेलाई सहयोग गर्ने अवसर देओस्। हातेमालो गर्दै अगाडि बढ्ने सामथ्र्य सबैलाई प्राप्त होस् भन्ने मेरो कामना छ।’

वर्ष २०७९ लाई चुनावी वर्षको रुपमा पनि हेरिएको छ। त्यसैले यसवर्ष हुने निर्वाचनमा स्वच्छ छवीका जनप्रतिनिधि निर्वाचित होउन् भन्ने अपेक्षा गरेको धनगढीका व्यवसायी उमेश गुप्ताले बताए। ‘२०७९ ले देशलाई नयाँ गति प्रदान गरोस्, निर्वाचनबाट असल नेतृत्व छानियोस्’ उनले भने, ‘देशले सबै क्षेत्रमा सफलता पाओस् भन्ने अपेक्षा गरेको छु।’

२०७८ मा कोभिड प्रकोपका कारण व्यापार व्यवसाय चौपट भएको थियो। तर नयाँ वर्षमा सबै कुरा सहज हुने विश्वास धनगढी व्यवसायी विनोद कुमार जिसीको छ। कोभिडको कारण २०७८ मा सबै क्षेत्र प्रभावित भयो। यो वर्ष व्यापार, व्यवसाय, उद्योग र उत्पादनको क्षेत्रमा राम्रो होस्’ उनले भने। 

वर्ष २०७८ सुदूरपश्चिमका लागि सुखद् हुन सकेन। श्रृंखलावद्ध हिंसा र महिला तथा बालबालिकामाथि दुव्र्यवहारका घटना पनि वर्ष २०७८ मा निरन्तर भइरहे। तर वर्ष २०७९ मा त्यस्तो नहोस् भन्ने कामना धनगढीकी कोपिला कुँवरको छ। उनी भन्छिन्, ‘नयाँ वर्ष २०७९ मा महिला हिंसा कसैले भोेग्नु नपरोस्। नयाँ वर्षमा कुनै पनि वर्ग र समुदायमाथि कुनै पनि किसिमको हिंसा नहोस्।’ 

नयाँ वर्ष २०७९ ले राजनीतिक आर्थिक र सामाजिक क्षेत्रमा सुधार ल्याओस भन्ने  विश्वास सर्वसाधारणले गरेका छन्। २०७९ वैशाख १ फेरि फर्केर आउँदैन। तसर्थ पूराना खराब आनीबानी त्यागेर नयाँ असल बानीव्यहोरा अँगाल्ने संकल्प गरौं। इतिहासको निर्मम समीक्षा गरी भविष्यको सुन्दर योजना बनाएर कार्यान्वयनमा लागौं। नयाँ वर्षको सबैमा शुभकामना ! 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस