कञ्चनपुर पुनर्वास नगरपालिकाको प्रमुखमा एमालेबाट विष्टको दाबी
धनगढीः स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको पुनर्वास नगरपालिका प्रमुखमा शारदा शर्मा विष्टले प्रमुख पदमा उम्मेदवारी दिने दाबी गरेकी छन्। उनी सो नगरपालिकाकी उपप्रमुख समेत हुन्। नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेकी उपप्रमुख विष्टले आफू प्रमुख पदका लागि योग्य उम्मेदवार रहेको दाबी गरिन्।
‘म नगरपालिका प्रमुखमा उम्मेदवार दिने लाइनमा छु,’ विष्टले भनिन्, ‘पार्टीले बनाएको योग्य, सक्षम महिलाभित्र म पनि पर्छु।’ पुनर्वासको प्रमुख पदका लागि ८ जनाले दाबी गरेका छन्। त्यो ८ जनाभित्र आफू बलियो रहेको उनले बताइन्। अहिलेसम्म जिल्लाले नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम केन्द्रमा पठाइसकेको छैन। ८ जनाको दाबी भएकोले छलफल भइरहेको नेताहरु बताउँछन्।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सो नगरपालिकाको प्रमुख उपप्रमुख दुवै एमालेले जितेको थियो। भदौ ९ गते एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले एमाले छोडेका थिए। पाँच दलीय गठबन्धनबाट पुनर्वास नगरपालिका प्रमुख एकीकृत समाजवादी पार्टीको भागमा पर्ने देखिन्छ।