कञ्चनपुरमा सिटिइभिटीका विद्यार्थी आन्दोलित, परीक्षा बहिस्कार गर्ने चार समातिए
धनगढीः कञ्चनपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का विद्यार्थी आन्दोलित भएका छन्। बुधबार अध्ययन पूरा नहुँदै परीक्षा सञ्चालन भइरहेको भन्दै सिटिइभिटीका विद्यार्थीहरु आन्दोलित भएका हुन्।
उनीहरुले परीक्षा बहिस्कार गरेका छन्। परीक्षा केन्द्र तोकिएको महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा विद्यार्थीहरु परीक्षामा सहभागी हुन छोडेर आन्दोलनमा उत्रिएका थिए। कोर्ष नसकी परीक्षा गरिन लागेको भन्दै आन्दोलन गरिएको विद्यार्थी गोकर्ण महराले बताए।
सिटिइभिटी अन्तर्गतको डिप्लोमा सिभिल इन्जिनियरिङ्ग संकाय तेस्रो वर्षको दोस्रो सेमेष्टरको परीक्षा बुधबार बिहान ७ बजेदेखि सुरु हुने कार्यतालिका थियो। परीक्षा स्थलमा विद्यार्थीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम सिंह चौधरीले बताए।
‘विद्यार्थीहरु परीक्षामा सहभागी भएका छैनन्। परीक्षा बिथोल्न खोजिरहेका छन्,’ उनले भने, ‘हामीले सुरक्षा दिइरहेका छौं।’ यस्तै परीक्षास्थलमा आन्दोलन गर्ने ४ विद्यार्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।