सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्त नगरपालिकाले ५ वर्षमा के–के गर्‍याे ?

२०७८ चैत्र २९, १०:४३ खबर संवाददाता

कञ्चनपुर:  कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच वर्षे उपलबधीहरूको समीक्षा गरेको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि ०७८/०७९ सम्मका प्रमुख उपलबधीहरू प्रस्तुतीकरण गरेको हो। 

४ वर्षको अवधिमा भीमदत्त नगरपालिकामा साढे ४८ किलोमिटर सडक कालोपत्रे गरिएको छ। नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले प्रस्तुत गरेको विवरण अनुसार जनप्रतिनिधिले नेतृत्व गरेपछि ५४ हजार वर्ग मिटर सडक मर्मत भएको छ। यस्तै २ सय ४७ किलोमिटर सडकमा ग्राभिल गरिएको छ। भीमदत्त नगरपालिका–१३ पिपरैया खोलामा पुल निर्माण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले पाँच वर्षमा दुई गौशाला निर्माण गरिएको जनाएको छ। तर गौँशालाहरुमा चौपाया कति राखिएका छन् भन्ने उपलव्धीमा समेटेको पाइएन।

नगरप्रमुख सुरेन्द्र विष्टले विकासका सवालमा भीमदत्तका १४ वडाहरूको भवन निर्माण कार्य सम्पन्न भएको र ५ वडा कार्यालय निर्माणाधीन अवस्था रहेको उबताए। वडा कार्यालयहरूमा इन्टरनेट पनि जडान गरेका बताउँदै उनले प्रयोगकर्ताको अभाव रहेको समेत बताए।  त्यस्तै ११ चौतारा, ११ पार्क निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ। त्यस्तै ८३ किलोमिटर बाह्य चक्रपथ निर्माण कार्य जारी रहेको जनाएको छ।  नगरपालिकाले योग शिक्षा सम्बन्धी पाठ्यक्रम निर्माण गरी कक्षा १ मा लागु गरेको प्रमुख उपलबधीका रूपमा लिएको छ। ५ सय ९ जना तहगत शिक्षक मिलान गरिएको नगरपालिकाले जनाएको छ।  

नगरपालिका फोहर मैला व्यवस्थापनको हकमा भने चुकेको जनाएको छ। नेपालगन्जमा रहेको फोहर मैला व्यवस्थापन केन्द्रमा ५ सय जनालाई भ्रमणका लागि लगिएको नगरपालिकाले जनाएको छ।  तर उपलबधी भने केही पनि नभएको नगरपालिकाका इन्जिनियर ऐरले प्रस्तुतीकरण गरे।   

त्यस्तै नगरपालिको सुरक्षित चेली अभियानको थालनी, जिल्ला रेडक्रसलाई १३ लाख आर्थिक सहयोग, वडा नम्बर १४ मा सोलार ड्रायल जडान, गड्डाचौकीमा हेल्थ डेक्स, ३ वटा प्रसुति केन्द्र निर्माण, २ सय ८ सिचाई बोरिङ र २१ विद्युतिय ट्रान्सर्फम जडान गरिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस