महिलालाई ‘अश्लिल गाली’ गर्ने बैतडी सिगासका अध्यक्षलाई काँग्रेसले सोध्यो स्पष्टीकरण
धनगढीः बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीलाई नेपाली काँग्रेस बैतडीले स्पष्टीकरण सोधेको छ। एक महिलालाई अश्लिल गाली गरेको आरोप लागेपछि उनलाई स्पष्टीकरण सोधिएको हो। स्पष्टीकरण पत्रमा भनिएको छ ‘के कति कारण ले यस्तो गर्नु भएको हो।
यदि यो गलत हो भने ७ दिनभित्र स्पस्टिकरण पेश गर्नुहोला।’ नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष धामीले काँग्रेसकै नेतृलाई गाली गरेको आरोप लागेको थियो। गाउँपालिकाको वडा नम्बर ९ की लक्ष्मीशाह चन्दले धामीले अश्लिल शब्द प्रयोग गरेर गाली गरेको आरोप लगाएकी थिइन्।
आसन्न स्थानीय तहको निर्वाचनमा सिगास गाउँपालिकाको उपाध्यक्ष पदकी आकांक्षी समेत रहेकी चन्दले अध्यक्ष धामीले आफूलाई फोनबाट अश्लिल गाली गरेको बताएकी थिइन्। धामीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको विषयलाई लिएर गाली गरेको उनले बताएकी थिइन्।