रुकुम (पूर्व) मा सकेट बम निष्क्रिय

रुकुम (पूर्व): रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–२ मा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ। वडा नम्बर २ को कोटघारीमा भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ। आज त्यहाँका स्थानीय बासिन्दा जङ्गल गएको बेलामा घाँस काट्ने क्रममा बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला पारेका थिए।
लगत्तै उनीहरुले इलाका प्रहरी कार्यालय प्वाङमा जानकारी गराएको र प्रहरी घटनास्थलमा पुगेर त्यस ठाउँलाई सुरक्षित राख्ने काम गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए। योसहित सिस्ने–२ मा दुई महिनाको अन्तरालमा तेस्रो पटक बम फेला पारी निष्क्रिय गरिएको हो। गएको फागुन २६ गते दर्जन बढी बम फेला पारी निष्क्रिय गरिएको थियो भने यही चैत ११ मा पनि दुई वटा सकेट बम फेला पारी निष्क्रिय गरिएको प्रहरी निरीक्षक बानियाँले बताए।

अहिले पनि पहिले भेटिएको ठाउँको १० मिटरको आसपासमा बम फेला परेको उनले बताए। तीनै पटक भेटिएका बमहरु सशस्त्र द्वन्द्वकालमा राखिएको हुनसक्ने प्रहरीले बताएको छ। सबै बमहरु पुराना रहेको पाइएको र केही बम खुला त केही ड्रममा राखेको अवस्थामा भेटिएका थिए। सिस्ने–२ को जङ्गलमा घाँसदाउरा जाँदा बम भेटिन थालेपछि नागरिकहरु त्रसित बनेका छन्। जिल्ला प्रहरी कार्यालयले बम हुनसक्ने सम्भावित ठाउँ हेरेर त्यस आसपास नजान र सावधानी अपनाउन नागरिकललाई आग्रह गरेको छ।


