कैलालीमा भेटिए ८६९ प्रजातिका वनस्पति, २ उद्यानमार्फत अनुसन्धान
धनगढी: वनस्पति अनुसन्धान केन्द्र कैलालीले धनगढीस्थित देवहरिया र गोदावरीमा वनस्पति उद्यान केन्द्रमार्फत अध्ययन अनुसन्धान र वनस्पति संरक्षण गरिरहेको छ। अनुसन्धान केन्द्रले सुदूरपश्चिममा आर्थिक तथा औषधिय हिसाबले उपयोगी जडिबुटी र वनस्पतिको खेती प्रवद्र्धन गर्न सहयोग गर्ने योजनासमेत बनाएको छ।
उद्यानमार्फत वनस्पतिक सम्पदाको अध्ययन, अनुसन्धान, संरक्षण, सम्वर्धन तथा सदुपयोगद्वारा आर्थिक समृद्धि हासिल गर्न विभिन्न योजना कार्यान्वयनमा रहेको केन्द्रका प्रमुख गंगादत्त भट्टले बताए। ‘वनस्पति अनुसन्धान केन्द्र कैलालीले धनगढीको देवहरिया र गोदावरीमा गोदावरी संरक्षण क्षेत्रमार्फत विभिन्न वनस्पतिको संरक्षण गरिरहेको छ’ उनले भने, ‘धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको देवहरिया वनस्पति उद्यानको १५० हेक्टरमा र गोदावरी संरक्षण क्षेत्रको १०६ हेक्टरमा वनस्पति संरक्षण गर्ने काम भइरहेको छ।’
वनस्पति अनुसन्धान केन्द्र कैलालीले सुदूरपश्चिम क्षेत्रमा पाइने वानस्पतिक प्रजातिको सर्वेक्षण, अध्ययन तथा पहिचान गर्ने गरेको बताएको छ। केन्द्रले कैलालीमा पाइने ८६९ प्रजातिको वनस्पतिको वैज्ञानिक पुष्ट्याइ गरेर अभिलेख तयार गरेको जनाएको छ।
यसैगरी परम्परागत ज्ञान तथा सीपको अभिलेखीकरण अन्तर्गत ५०२ प्रजातिको अध्ययन गरिएको र जडीबुटी प्रजातिको खेती प्रविधि विकास तथा बिस्तार गर्न सर्वसाधारणलाई सहयोग गर्ने नीतिसमेत रहेको प्रमुख भट्टले बताए। ‘हामीले खेती प्रविधि विकास भएका प्रजातिको लागि खेती प्रविधि हस्तान्तरण गर्ने काम गरिरहेका छौँ’ उनले भने, ‘क्यामोमाइल, मेन्था कुरीलोको खेती गर्न प्राविधिक सल्लाह दिने र जडीबुटी प्रशोधन गर्न अनुदान पनि दिने कार्यक्रम रहेको छ।’
धनगढीको देवहरिया वनस्पति उद्यानमा २ सय प्रजातिका वनस्पति र जडीबुटी संरक्षण गरिएको छ। ३ वटा तालसमेत रहेको देवहरिया वनस्पति उद्यानमा केन्द्रको उद्धेश्य विपरीत गतिविधि हुने गरेकोले वानस्पति सम्पदाको अध्ययन, अनुसन्धान, संरक्षण, सम्वद्र्धन तथा सदुपयोगमा बाधा परेको जनाइएको छ। स्थानीयवासी तथा धनगढी उपमहानगरले उद्यानको उदेश्य विपरीत काम गर्न खोज्दा समस्या आउनसक्ने वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ। ‘वनस्पती उद्यान जुन उद्देश्यले स्थापना गरिएको हो त्यो उद्देश्य विपरीतका कार्य उद्यान क्षेत्रमा हुनु स्वीकार्य छैनन्। वनस्पति उद्यानको मापदण्ड विपरीतका कामहरू हामीलाई मान्य हुँदैनन्’, भट्टले भने।
देवहरिया वनस्पति उद्यानभित्र धनगढी उपमहानगरपालिकाले गौशाला बनाएर उद्यान क्षेत्रमा चरीचरन भएको बताइएको छ। ताल क्षेत्र र बाँकी उद्यानको संरक्षणका लागि उपमहानगरपालिका र स्थानीयको सहयोग हुनुपर्ने केन्द्रले बताएको छ।