अमरगढी नगरपालिकाको उपप्रमुखमा पदमा गुरुङको दाबी
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाको उपप्रमुखमा पदमा गुरुङले दाबी गरेकी छिन्। विगत २४ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेकी उनले आफू नै अमरगढीको उपप्रमुख पदमा उपयुक्त रहेको दाबी गरेकी हुन्।
उनी गत निर्वाचनमा नेपाली कांग्रेस डडेल्धुराबाट प्रतिनिधि सभातर्फकी समानुपातिक उम्मेदवार रहेकी थिइन्। विभिन्न सामाजिक कार्य गरेर जिल्लामा छुट्टै पहिचान बनाएकी गुरुङ २०५८ सालदेखि नेपाली कांग्रेस डडेल्धुराकी क्रियाशील सदस्य छिन्। डडेल्धुरामा सहकारी स्थापनामा काम गरेकी पदमा गुरुङ विगत २४ वर्षदेखि जिल्लामा सहकारीको विकास गर्न प्रयत्नरत छिन्। अमरगढीमा थुप्रै समस्या देखेकी उनले उपप्रमुखमा विजयी भएपछि समाजिक तथा आर्थिक विकासमा कदम चाल्ने बताएकी छिन्।
महिला, बालबालिका, दलित, विपन्न, आदीवासी जनजाति र वृद्धवृद्धाको अधिकारका सवालमा दत्तचित्त भएर लाग्ने उनले दाबी गरेकी छिन्। ‘अहिले विभिन्न स्थानका उपप्रमुख अधिकार नपाएर काम गर्न नसकेको भनेर पन्छिन खोजिरहेका छन् तर त्यो गलत हो’ गुरुङ भन्छिन्, ‘त्यहाँ धेरै अधिकार छन्। त्यसलाई प्रयोग गर्न जान्नुपर्छ।’ नगरमा रहेका सबै प्रकारका समस्या, चुनौति, अवसर र सम्भावनासँग नजीकबाट परिचित रहेकोले टिकट पाएर विजयी भएमा विकासका लागि योजना समेत बनाएको उनले बताएकी छिन्।