एमाले अछामले भन्योः म्यादी सिफारिस गरेको भन्दै सञ्जालमा गरिएको प्रचार गलत
धनगढीः नेकपा एमाले अछामले म्यादी प्रहरी भर्नामा कसैलाई पनि सिफारिस नगरिएको बताएको छ। सामाजिक सञ्जालमा म्यादीका लागि सिफारिस गरेको भन्दै एक पत्र भाइरल बनेपछि एमाले अछामले यस्तो बताएको हो।
पार्टीले प्रयोग नै नगरेको लेटर प्याड र छाप भएको भ्रमपूर्ण प्रतिलिपि सार्वजनिक गरिएको एमालले जनाएको छ। एमाले अछामका सचिव भीमबहादुर रावलले एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्।
उनले जारी गरेको विज्ञप्तिमा एमालेलाई जनतामा विवादित बनाउने उद्देश्यले सामाजिक सञ्जाल फेसबुकमा गलत प्रचार गरिएको कुरा उल्लेख छ। प्रेस विज्ञप्तिमा भनिएको छ,‘म्यादी प्रहरी भर्नाका लागि सिफारिस गरिएको भन्ने कुरा भ्रमपूर्ण हो।’ एमाले अछामले म्यादी भर्नाका लागि सिफारिस नगरिएको पनि स्पष्ट पारेको छ।