बैतडी सिगासका अध्यक्षले गरे महिलालाई ‘अश्लिल गाली’, जिल्लामा निवेदन
धनगढीः बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले एक महिलालाई अश्लिल गाली गरेको आरोप लागेको छ। नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष धामीले काँग्रेसकै नेतृलाइ गाली गरेका हुन्। गाउँपालिकाको वडानम्बर-९ की लक्ष्मीशाह चन्दले धामीले अश्लिल शब्द प्रयोग गरेर गाली गरेको आरोप लगाएकी हुन्।
आसन्न स्थानीय तहको निर्वाचनमा सिगास गाउँपालिकाको उपाध्यक्ष पदकी आकांक्षी समेत रहेकी चन्दले अध्यक्ष धामीले आफूलाई फोनबाट अश्लिल गाली गरेको बताएकी छन्। धामीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको विषयलाई लिएर गाली गरेको उनले बताइन्।
उनले भनिन्, ‘मेरो चरित्र र घर परिवारलाइ समेत असर पर्ने खाले गाली गरियो। म कारवाहीको प्रक्रियामा जान्छु।’ सार्वजनिक पदमा बसेर यस्तो व्यवहार देखाउनु खेदजनक रहेको उनको भनाइ छ। अध्यक्षले गाली गरेको अडियो सुरक्षीत रहेको उनको दाबी छ। यस्तै उनले धामीमाथि कारबाहीका लागि कांग्रेसको जिल्ला कार्यसमितिमा निवेदन समेत दिएको बताइन्।