सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको पालिकामै गठबन्धनमा विवाद, तालमेल आवश्यक नरहेको भन्दै पत्राचार

२०७८ चैत्र २७, ०१:०२ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँपालिकामै स्थानीय कार्य समितिले चुनावी तालमेल अस्वीकार गरेका छन्। देउवाको मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकामा तालमेल अस्वीकार गरिएको हो।

गन्यापधुरा गाउँपालिका– २ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको निर्णय गरेर गाउँपालिका कार्यसमितिलाई पत्र पठाएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा ती दुवै वडामा कांग्रेस विजयी भएको थियो।तालमेलबिना जित्न सकिने भन्दै दुवै वडाले निर्णयसहित सिफारिस पत्र पठाएको कांग्रेस गन्यापधुराका सभापति इन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार १, ४ र ५ का वडा कार्यसमितिले तालमेलबारे निर्णय गरिसकेका छैनन्। 

२०७४ को स्थानीय निर्वाचनमा वडा नम्बर १ मा कांग्रेस, ४ मा नेकपा माओवादी केन्द्र र ५ मा नेकपा एमाले विजयी भएका थिए। तालमेलबारे निर्णय नगरेको वडा नम्बर १ मा प्रधानमन्त्री देउवाको मतदाता नामावली छ। गाउँपालिका कार्यसमिति सभापति कार्कीले गन्यापधुरामा चुनावी तालमेल आवश्यक नरहेको आशय व्यक्त गर्दै वडा कार्यसमितिको सिफारिस माथिल्लो तहलाई जस्ताको त्यस्तै पठाउने बताएका छन्। 

कमेन्ट लोड गर्नुस