‘सुदूरपश्चिम सरकारमा काँग्रेस आजै सहभागी हुनसक्छ’
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई पनि सहभागी गराउने तयारी भएको छ। आज रातिदेखि चुनावी आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको हो।
नेपाली काँग्रेस सुदूरपश्चिमका प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश सरकारमा काँग्रेसको सहभागिता आजै हुनसक्ने सम्भावना पनि रहेको बताए।
‘सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेस आजै सहभागी पनि हुनसक्छ,’ प्रदेश सभापति बलायरले दिनेशखबरलाई भने, ‘केन्द्रमा अहिले पनि छलफल भइरहेको जानकारी आएको छ। छिट्टै टुंगो लाग्छ।’
अहिले प्रदेश सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्री र अन्य दुई मन्त्री तथा एकजना राज्यमन्त्री, एकीकृत समाजवादीबाट ४ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन्। काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा तालमेल हुन प्रदेश सरकारमा कांग्रेसको सहभागिता अनिवार्य हुनुपर्ने माग राख्दै आएको छ।