सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद पुनर्स्थापना गर्ने अदालतको आदेशपछि पाकिस्तानमा अब के ?

२०७८ चैत्र २५, १२:४७ खबर संवाददाता

काठमाडौंः पाकिस्तानमा सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्री इमरान खानमाथिको अविश्वास प्रस्तावमा भोलि (शनिबार) मतदान हुने छ। अदालतले नै ९ अप्रिलका दिन संसद बैठक बोलाउन र अविश्वास प्रस्तावमा मतदान गराउन आदेश दिएको थियो। इमरानविरुद्धको अविश्वास प्रस्ताव पारित हुने भएपछि उपसभामुख क्वासिम सुरीले त्यो प्रस्ताव नै खारेज गरेका थिए। र त्यसपछि इमरानले संसद विघटन। त्यसविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले उपसभामुखले प्रस्ताव खारेज गर्नु कानून सम्मत नभएको भन्दै अविश्वास प्रस्ताव अघि बढाउन आदेश दिएको हो।

सर्वोच्चको आदेश पछि अब शनिबारको संसद बैठकमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोट हुने छ। ३४२ सदस्यीय संसदमा इमरानको पक्षमा १५५ जना मात्र सांसद छन्। अविश्वास प्रस्ताव पारित भएमा सभामुखले राष्ट्रपतिलाई यसको जानकारी दिने छन् र नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्ने छ। विपक्षी गठबन्धन जसले इमरानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो उसले शहबाज सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिसकेको छ। जसअनुसार सबै पक्रिया पूरा गरेर इमरानले विश्वासको मत गुमाएको २४ घन्टा भित्रमा नयाँ प्रधानमन्त्री पाकिस्तानले पाउने छ।

अमेरिका र पश्चिमा देशको डिजाइनमा अविश्वास प्रस्ताव आएको आरोप लगाउँदै आएका प्रधानमन्त्री इमरानले भने आफूले अन्तिम क्षणसम्म सामना गर्ने बताएका छन्। ‘मैले भोलि मन्त्रिपरिषद र सर्वदलीय बैठक बोलाएको छु,’ पूर्व क्रिकेटरसमेत रहेका उनले बिहीबारराति ट्वीट गरेका छन्, ‘देशका नाममा संवोधन गर्ने छु र मैले पाकिस्तानका लागि अन्तिम बलसम्म संघर्ष गर्ने छु।’

कमेन्ट लोड गर्नुस