सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी पाटनको मेयरमा एमालेबाट पाँचजना आकांक्षी

२०७८ चैत्र २४, ०६:०५ खबर संवाददाता

धनगढीः आसन्न स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलहरूले उम्मेदवार छनोटको कार्य अगाडि बढाएका छन्। उम्मेदवार छनोट कार्य अन्तिम चरणमा पुगिरहेका बेला आकांक्षीहरूको संख्या पनि बढ्दै गएको छ। 

बैतडीमा पनि स्थानीय तहको प्रमुख र उपप्रमुखको पदका लागि धेरैले आकांक्षा देखाएका छन्। जिल्लाको सर्वाधिक चासोका साथ हेरिएको पाटन नगरपालिकाको मेयर पदका लागि एमालेबाट मात्र पाँचजना आकांक्षी देखिएका छन्। एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीका अनुसार आकांक्षीहरूबीच सहमतिका लागि छलफल भइरहेको छ। पाटनको मेयरका लागि एमालेबाट जिल्ला उपसचिव लोकेन्द्र भण्डारी, पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकबहादुर भण्डारी, एमालेका पाटन इन्चार्ज देवेन्द्र कुँवर, प्रदेश कमिटी सदस्य धर्मानन्द भट्ट र नारायण भण्डारीले आकांक्षा देखाएका छन्।

आकांक्षीको नाम पार्टीमा आएको र सर्वसम्मत उम्मेदवार बनाउने हिसाबले पार्टीमा छलफल भइरहेको बताइएको छ। मेयरका लागि उम्मेदवार टुंगो लगाएपछि मात्रै उपमेयर पदको उम्मेदवारका विषयमा छलफल हुनेछ। २०७४ को स्थानीय निर्वाचनमा पाटन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। नगरपालिकाको वडा नम्बर २, ६ र ८ कांग्रेस, १, ३ र ४ माओवादी तथा ७, ९ र १० एमाले विजयी भएको थियो। 

कमेन्ट लोड गर्नुस