सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूरपश्चिममा एमालेले राष्ट्रवादी शक्तिहरूसँग भने मिलेर चुनाव लड्छ’

२०७८ चैत्र २३, १२:१४ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा नेकपा एमालेले स्थानीय तहको उम्मेदवारको टुङ्गो वैशाख २ गतेभित्रै लगाइसक्ने बताएको छ। प्रदेशका ८८ वटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यका उम्मेदवारको नामावली सार्वजनिक गर्ने गरी आन्तरिक तयारी गरिरहेको नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रदेश सह–इन्चार्ज राजेन्द्रसिंह रावलले दिनेशखबरलाई बताए।‘हामी पालिका तथा वडा लेभलमा पार्टीका कार्यालय स्थापना गरिरहेका छौँ र प्रशिक्षण पनि चलाइ रहेका छौँ’ उनले भने, ‘वैशाख २ गते हामीले सबै उम्मेदवारको नामावली सार्वजनिक गर्छौँ।’

वडा तहको उम्मेदवारी स्थानीय पालिका कमिटी, पालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको टुङ्गो जिल्ला कमिटीले लगाउने तर धनगढी उपमहानगरपालिकाको प्रमुखको टुङ्गो भने केन्द्रले लगाउने पार्टी नीति रहेको नेता रावलले बताएका छन्। ‘सर्वसम्मत हुन नसकेको अवस्थामा मात्रै माथिल्लो कमिटीमा आकांक्षीको नामहरू सिफारिस हुन्छन् नत्र पालिका र जिल्लामा सर्वसम्मत भएको नामहरू प्रदेश कमिटीमा आउने र उम्मेदवारी अनिवार्य रूपमा बैशाख २ गते सार्वजनिक हुन्छ’ उनले भने। 

नेता रावलले नेकपा एमालेसँग गठबन्धनको सामना गर्ने सामर्थ्य  रहेको दाबी गरेका छन्। नेकपा एमालेलाई कुनै बैसाखी आवश्यक नपर्ने र आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने र जित्ने उनले बताएका छन्। तर तालमेलको सम्भावना भएका स्थानीय तहमा राष्ट्रवादी शक्तिसँग तालमेल गर्न नेकपा एमाले उदार रहेको नेता रावलको भनाइ छ। ‘हामी गठबन्धनमा सामेल भएका दलसँग कुनै पनि हालतमा तालमेल गर्दैनौँ’ उनले भने, ‘राष्ट्रवादी शक्तिहरूसँग भने मिलेर चुनाव लड्न तयार छौँ।’

पाँच दलिय गठबन्धनको सामना गर्न एक्लै एमालेले सक्ला त ? भन्ने प्रश्नमा एमाले संगठनात्मक र नीतिको हिसाबले गठबन्धनभन्दा बलियो रहेको रावलले बताए। ‘हामी अपवित्र गठबन्धनभन्दा निकै शक्तिशाली छौँ। आँट नभएकाहरूले हो अपवित्र गठबन्धन गर्ने’ रावलले भने, ‘हामी नीति, योजना, जनजिविकाका सवाल र संगठनात्मक हिसाबले गठबन्धनको सामना गर्न मात्रै होइन, गठबन्धनलाई पराजित गर्न सक्षम छौँ।’ 

नेकपा एमालेले कुन–कुन पार्टीसँग गठबन्धन गर्छ भन्ने प्रश्नको जवाफमा राष्ट्रवादी शक्तिहरूसँग हुने र पार्टीको नाम नै लिनुपर्ने आवश्यकता अहिले नभएको रावलले बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस