सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वासमा गठबन्धनविरुद्ध कांग्रेस, नगर प्रमुखमा ९ जनाको आकांक्षा

२०७८ चैत्र २२, ११:१८ नारायण अवस्थी

धनगढी: कञ्चनपुरको दक्षिणवर्ती स्थानीय तह पुनर्वास नगरपालिकामा नेपाली कांग्रेस सत्ता गठबन्धनविरुद्ध लागेको छ। ३४ हजार १२१ मतदाता रहेको नगरपालिकामा २०७४ को स्थानीय तहमा नेकपा एमालेका जीवनराज थापा नगरप्रमुखमा निर्वाचित भएका थिए। 

अहिले नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन भएको र नेकपा माओवादीबाट नगरप्रमुखमा प्रतिस्पर्धा गरेका वीरबहादुर थापा एमालेमा बसेकोले नेपाली कांग्रेसको अवस्था मजबुत रहेको स्थानीय नेताहरूको विश्लेषण रहेको रहेको छ। अन्य पार्टीमा टुटफुट आएको तर नेपाली कांग्रेस थप सुदृढ भएकोले चुनाव जित्न सहज हुने नगर सभापति शुकबहादुर तामाङ बताउँछन्। ‘जनताले पनि कांग्रेसलाई पत्याउने अवस्था छ। त्यसैले पुनर्वासमा ५ दलीय गठबन्धन हुँदैन’ उनले भने, ‘नगरप्रमुख, उपप्रमुखसहित वडामा दुई तिहाई बहुमत कांग्रेसको हुने हाम्रो विश्वास छ।’ 

जनता, कार्यकर्ता तथा सिङ्गो नगरकार्यसमिति नै गठबन्धनको विपक्षमा रहेको उनको दाबी छ। ‘आज(मंगलवार) नगर कार्यसमितिको बैठक राखेर गठबन्धन नगर्ने निर्णय गर्दैछौँ। नगर कार्यसमितिको बैठक राखेर गठबन्धन नगर्ने निर्णय गर्दै छौँ’ उनले भने। 

२०७४ को निर्वाचनमा पुनर्वास नगरपालिकामा कांग्रेस तेस्रो स्थानमा रहेको थियो। कांग्रेसको तर्फबाट नगरप्रमुखका उम्मेदवार तोयनाथ शर्माले ५ हजार ५१२ मत ल्याएका थिए भने, नेकपा माओवादी केन्द्रका वीरबहादुर थापाले ५ हजार ५१४ मत ल्याएर दोस्रो भएका थिए। यस्तै अहिले नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्षसमेत रहेका नगरप्रमुख जीवनराज थापाले ६ हजार ४० मत पाएर जीत हाँसिल गरेका थिए। 

नगरवासीले कांग्रेसलाई नै अब हुने चुनावमा भोट दिन चाहेकाले गठबन्धन नगरी चुनाव लड्नुपर्ने धारणा गत निर्वाचनमा नेपाली कांग्रेसबाट नगरप्रमुखको उम्मेदवार रहेका शर्माको छ। ‘नेपाली कांग्रेस एक्लै चुनाव लड्न र जित्न सामर्थ्य राख्दछ। तसर्थ पुनार्वास नगरपालिकामा गठबन्धन गर्नुहुन्न भन्ने सबैको चाहना र माग छ’ उनले भने, ‘नेपाली कांग्रेसले सजिलै चुनाव जित्छ गठबन्धन नगर भनेर जनताले पनि भनिरहेका छन्। सबै नेता कार्यकर्ता पनि गठबन्धनको विपक्षमा छन्।’  टिकट वितरणमा सन्तुलन मिलाउन सके सहजै चुनाव जित्ने कांग्रेसका स्थानीय नेताहरूको भनाइ छ। 

नगर प्रमुखका ९ जना आकांक्षी
पुनर्वास नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसबाट ९ जना आकांक्षी रहेको बताइएको छ। गत निर्वाचनमा उम्मेदवार रहेका तोयनाथ शर्मा, पुनर्वास नगरकार्यसमितिका सभापति शुकबहादुर तामाङ, कालिका गाविसका पूर्व अध्यक्ष शुकबहादुर तामाङ, भरत विष्ट, विन्दु श्रेष्ठ, अमरजंग साउँद, हरि अधिकारी, दीर्घसिंह ठकुरी र डिबी लामाको नाम चर्चामा रहेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस