डिपो सार्ने योजना अलपत्र, भण्डारण क्षमता कम हुँदा आपूर्तिमा समस्या
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र पेट्रोलियम पदार्थको माग बर्सेनि बढ्दै गएको छ। सवारी साधनको बढ्दो चाप, पेट्रोलियम पदार्थबाट चल्ने कृषि यन्त्र, ढुवानीका अन्य साधन र मेसिनरी औजार लगायतको खपत बढेसँगै हरेक वर्ष २० प्रतिशतले पेट्रोलियम पदार्थको माग बढ्दो क्रममा छ।
तर घनाबस्तीले घेरिएको डिपोको भण्डारण क्षमता भने निकै कम छ। तीन महिनाका लागि इन्धन भण्डारण गर्न सकिने गरी ३० बिघा क्षेत्रफलमा डिपो सार्ने योजना निगमको थियो। गोदावरी नगरपालिका वडा नम्वर ८ स्याउलेमा रहेको शिवशक्ती सामुदायिक वन उपयुक्त हुने भन्दै सो क्षेत्रको अनुगमन गरिएको भए पनि वन क्षेत्रको जग्गा पाउन नसकिएको निगमले जनाएको छ।
धनगढीमा भण्डारण क्षमता कम भएकै कारण भारतबाट आउने ट्यांकरलाई सोझै वितरक संस्थामा पुर्याउनुपर्ने बाध्यता रहेको पेट्रोलियम पदार्थ ढुवानी संघ सुदूरपश्चिमका अध्यक्ष मनिराम पाण्डेले बताए। ‘धनगढी बजारमा रहेको डिपो सुरक्षाको दृष्टिकोणबाट निकै असुरक्षित देखिएको छ,’ उनले भने, ‘भण्डारण क्षमतादेखि ट्याङ्कर व्यवस्थापनसम्म समस्या भएकाले सोझै इन्धनले भरिएका ट्याङ्कर बिक्रेताकहाँ पुर्याउनुपर्ने बाध्यता छ।’
सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीको डिपोमा १५ लाख ९० हजार लिटर डिजल, ७० हजार लिटर पेट्रोल र २८ हजार लिटर मट्टीतेल राख्न सकिने क्षमताका ट्याङ्की रहेका छन्। डिजेल बढीमा तीन दिन र पेट्रोल आधा दिनका लागि मात्र माग धान्न सकिने अवस्था छ। अन्य प्रदेशको तुलनामा पेट्रोलियम पदार्थको खपत सुदूरपश्चिममा कम देखिए पनि वार्षिक २० प्रतिशतले मागमा वृद्धि भइरहेको छ।
एक बिघा क्षेत्रफलमा आयल निगमको कार्यालय र डिपो रहेकाले जग्गा अभावका कारण भण्डारणको ठूलो समस्या छ। तीन महिना पुग्ने पेट्रोलियम पदार्थ भण्डारण र ट्याङ्कर पार्किङ्गका लागि ३० विघा आवश्यक देखिए पनि जग्गा पाउन नसकिएको निगमको दाबी छ।
अर्को विकल्प नभए सम्मका लागि धनगढीकै आयल निगम र डिपोलाई व्यवस्थित गरेर आपूर्ति व्यवस्थालाई सहज बनाउने काम हुँदै आएको आयल निगम धनगढीका प्रमुख राजकुमार न्यौपानेले बताए। ‘डिपोका सार्न कैलाली र कञ्चनपुरमा गरी तीन स्थानमा जग्गा खोजी गरिएको छ,’ उनले भने, ‘अन्तिममा कतैबाट पनि जग्गा पाउन सकिएन। नयाँ वर्षमा जग्गा खोज्ने प्रक्रिया पुनः सुरु हुन्छ।’
आयात र खपत बर्सेनि बढ्दै गए पनि भण्डारण क्षमता नहुँदा बेलाबेलामा पेट्रोलिय पदार्थको अभाव हुने गरेको छ। दैनिक खपत हुने पेट्रोलको तुलनामा भण्डारण क्षमता झन्डै १० हजार लिटर कम छ। धनगढी डिपोको क्षमता ७० हजार लिटर रहेकोमा पछिल्लो एक वर्षयता दैनिक पेट्रोलको माग ८० हजार लिटर भन्दा बढी छ।
सुदूरपश्चिममा एक दिनमात्र पेट्रोल आयात नभए वितरणमै समस्या हुने गरेको निगमले जनाएको छ। भण्डारण क्षमता मात्र नभई पेट्रोलियम पदार्थ ओसार्ने ट्यांकरको समेत अभाव छ। हाल प्रदेशभित्र ८५ ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन्। थप २० ट्यांकर आवश्यक देखिएको निगमको भनाई छ।