सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्फ्यु उलङ्घन गरेको आरोपमा ६६४ जना पक्राउ

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७८ चैत्र २०, ०६:४३ रासस

कोलम्बोः श्रीलङ्कामा सरकारले लागू गरेको कफ्र्यु उलङ्घन गरेको आरोपमा कम्तीमा ६६४ जनालाई गिरफ्तार गरिएको छ।

स्थानीय समय अनुसार शनिबार राती १० बजेदेखि आइतबार बिहान ६ बजेको बिचमा देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई गिरफ्तार गरिएको हो।

सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्र्यु आदेश जारी गरेको छ। कफ्र्यु लागू भएका बेला अनुमति विना हिँड्डुल गर्न नपाइने भएपनि हिँड्डुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको बरिष्ठ प्रहरी निरीक्षक निहाल थाल्डुवाले बताए।

आर्थिक सङ्कटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरु विरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्कामा देशव्यापी सुरक्षाका लागि भन्दै सङ्कटकालको घोषणा गरेको छ।

आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास घेराउ गर्नुका साथै आक्रमणको प्रयास गरेपछि उनीहरु र सुरक्षाकर्मी बीच झडप समेत भएको थियो। त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू पनि घाइते भएका थिए।

चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकोले सङ्कटकालको घोषणा गर्नु परेको सरकारी अधिकारीहरूले जनाएका छन्।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ।

सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि आदेश जारी गरेको छ। राजधानी कोलम्बो लगायतका मुख्य सहरमा सुरक्षाकर्मीले रातको समयमा निषेधित क्षेत्र घोषणा गरेको छ।

आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरु आन्दोलित भएका हुन।

सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण आन्दोलित भएका हुन्। अघिल्लो साता मात्र कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित भएको थियो।
 

कमेन्ट लोड गर्नुस