कञ्चनपुरमा मेयर सहितका जनप्रतिनिधि एमाले छोडेर समाजवादीमा
धनगढीः कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक चन्द एकीकृत समाजवादीमा लागेका छन्। नेकपा (एमाले) बाट निर्वाचित मेयर चन्दसहित पाँच जना वडाध्यक्ष, वडा सदस्य, जिल्ला कमिटी सदस्य र सल्लाहकार सदस्यलगायतका करिब पाँच सय जना नेकपा एकीकृत समाजवादीमा लागेका हुन्।
समाजवादीका अध्यक्ष माधव नेपालले एमाले परित्याग गरेका उनीहरुलाइ स्वागत गरेका छन्। मेयर चन्दसहित वडा नम्बर ३ का वडाध्यक्ष तिलक ठकुल्ला, ४ का भास्कर भट्ट, ७ का वीरबहादुर डगौरा, ८ का दुर्गासिंह भन्डारी र १० का वडाध्यक्ष केशव रावल समाजवादीमा लागेका हुन्।
यस्तै अन्य कार्यपालिका सदस्यहरु, एमाले जिल्ला कमिटी सचिवालय सदस्यहरु र जिल्ला कमिटी सल्लाहकारहरुले पनि समाजवादीमा प्रवेश गरेको बताइएको छ।