सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप चढेर बुडरसम्म पुगेकी डडेल्धुराकी दिपा कहाँ हराइन् ?

२०७८ चैत्र २०, ०३:३६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराकी एक युवती २७ दिनदेखि बेपत्ता छिन्। आलिताल गाँउपालिका–६ डाणी कोइराकी १८ वर्षीय दिपा बोहराको अवस्था अज्ञात रहेको हो। कैलालीको चुरे गाँउपालिका–६ कुमैना माइती भएकी उनी ८ महिनाकी छोरी छोडेर बेपत्ता रहेको माइती परिवारले जनाएको छ। 

उनको खोजीका लागि आलितालको धिमडामा रहेको प्रहरी चौकीमा जाहेरी दर्ता गराए पनि अहिलेसम्म कुनै जानकारी नआएको माइती पक्षको गुनासो छ। माइतीले आफ्नो छोरीको खोजीमा घरपरिवारले कुनै चाँसो नदेखाएको आरोप लगाएको छ। 

करिब डेढ वर्ष अघि आलितालका पदम बोहरासँग भागी विवाह गरेकी बोहरा गत साउदेखि माइतमै बस्दै आएकी थिइन्। माइतबाट फागुन ७ गते मात्रै दिपा आलितालमा रहेको घर गएकी उनकी आमा मानादेवी धामीले बताइन्। माना धामीका अनुसार फागुन २४ गतेदेखि दिपा घरमा नरहेको र छोरी छोडेर गएको भन्ने घरबाट जानकारी आएको थियो। फागुन २४ गते नै आलितालको घरेलुबाट उनी जीप चढेर बुडरसम्म पुगेको भन्ने जानकारी पाएको माना धामीले बताइन्। 
उनका श्रीमान् भारतमा रोजगारी गर्छन्। उनी केही समय घरमा आउने जाने गर्दै आएका थिए। भारतमै काम गरिरहेको बताउने श्रीमानले माघमा दोस्रो विवाह गरि अर्की श्रीमती ल्याएपछि परिवारमा समस्या भएको आफन्त बताउँछन्। 
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने युवतीको खोजी कार्य भइरहेको जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस