डाक्टरहरूले गरेका विरोध कार्यक्रम बन्द नगरे कारबाही गर्ने सरकारको चेतावनी
स्वास्थ्य मन्त्रालयले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै डाक्टरहरूले गरेका विरोध कार्यक्रम बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको छ।
नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गरेको थियो। केसीसँगको सम्झौता लागू गरी उनको जीवनरक्षा गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका छन। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने घोषणा फिर्ता नगरे डाक्टरहरूलाई अत्यावश्यक सेवा ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य सेवाजस्तो जनसरोकार र संवेदनशील मानवीय जीवनसँग सम्बन्धित प्रत्यक्ष सरोकार राख्ने सेवा अवरोध हुन नदिन आफू गम्भीर रहेको मन्त्रालयले जनाएको छ। ‘आफ्ना विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिई स्वास्थ्य संस्थाहरूमा सेवा यथावत् सञ्चालन गर्न मन्त्रालय पुनः अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा आवश्यक सेवा सञ्चालन सम्बन्धी ऐन २०१४ बमोजिम कारबाही प्रकृया अघि बढाउन मन्त्रालय बाध्य हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ।’
आवश्यक सेवा दिने संस्थामा हडताल गर्नेलाई ६ महिनासम्म जेल सजाय गर्ने सकिने कानुनमा उल्लेख छ। बिहीबार संघले विज्ञप्ति मार्फत सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो।
अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले चासो नदेखाएको भन्दै संघले त्यसको घोर भत्र्सना गरेको छ। संघले वार्ता र संवादको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न समेत सरकारलाई अपिल गरेको छ।