प्रधानमन्त्री देउवा भाजपा मुख्यालयमा
नयाँदिल्ली : भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्लीको दीनदयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा शुक्रबार पुगे। सो अवसरमा भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायत शीर्ष नेताहरूले उनलाई स्वागत गरेका थिए।
विश्वकै सवैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भाजपाका अध्यक्षको निमन्त्रणा स्वीकार गरी प्रधानमन्त्री देउवा सो पार्टीको मुख्य कार्यालयमा गएका हुन्। यस भ्रमणले भाजपा र नेपालका राजनीतिक पार्टीहरुबीच असल मैत्री सम्बन्ध कायम गर्न सहयोग पुगेको परराष्ट्रमन्त्री डा नारायण खड्काले बताए। उनले भने, “यस भ्रमणले सकारात्मक सन्देश दिएको छ, औपचारिक रुपमा सम्वादको ढोका खुलेको छ।”
लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भ्रमण हुन नसकेको अवस्थामा यसपटक प्रधानमन्त्रीको भ्रमण हुनु आफैँमा ठूलो उपलब्धि भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बताइन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले दुई देशका पार्टी पार्टी र सरकार सरकारबीच अनुभव आदानप्रदान र सम्बन्ध सुदृढीकरण गर्न प्रधानमन्त्री देउवाको भ्रमण फलदायी रहेको उल्लेख गरे।
सो अवसरमा भ्रमण दलमा सहभागी परराष्ट्रमन्त्री डा खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवलगायत भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिए।
प्रधानमन्त्री देउवासँग हिजो नै साँँझ भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरे भने नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए। त्यस भोजमा भ्रमण दलका सदस्यहरुका अतिरिक्त भारतमा रहेका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।