सुदूर नेपाललाई विश्वसँग जोड्दै

तंग्रिदै सुदूरपश्चिमको पर्यटन, भरिभराउ धनगढीका होटल

२०७८ चैत्र १८, ०७:१४ नारायण अवस्थी

धनगढी : शिक्षक सेवा आयोगको परीक्षा केन्द्र तोकिएपछि कैलालीको धनगढीका सबै होटल भरिभराउ भएका छन्। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा रहेका होटल तथा लजहरूको एकैदिन २ हजार ५ सय बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता छ। विशिष्ट स्तर, क वर्ग, ख र ग वर्ग गरी चार प्रकारका होटलबाट व्यवसायीले पाहुनालाई सेवा दिइरहेका छन्।

धनगढीमा भने विशिष्ट स्तरको होटेल ६ वटा, क वर्गका १८ वटा, ख वर्गका २६ वटा, ग वर्गका २४ गरी जम्मा ७४ होटल सञ्चालनमा रहेको होटेल व्यवसायी संघको तथ्याङ्क छ। कोभिडको कारण लामोसमय ठप्प रहेको होटेल व्यवसाय विस्तारै लयमा फर्किन लागेको संकेत देखिएको छ। शिक्षक सेवा आयोगको परीक्षाको कारण सबै होटल भरिभराउ भएको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलमबहादुर बमले दिनेशखबरलाई बताए। 'धनगढीमा हरेक दिन २ हजार ५ सयभन्दा बढी पाहुनाले बस्न पाउने क्षमताका होटल सञ्चालन छन्,' उनले भने, 'अहिले शिक्षक सेवा आयोगको परीक्षाको कारण धनगढीका सबै होटेल भरिभराउ छन्।'

सुदूरपश्चिममा आन्तरिक पर्यटक बढे पनि बाह्य पर्यटकको आगमन हुन नसकेकोले पर्यटन क्षेत्रमा ठुलो सम्भावना भए पनि फाइदा लिन नसकिएको होटल तथा पर्यटन व्यवसायीले बताएका छन्। प्रदेश राजधानी र सदरमुकाम क्षेत्रमा सरकारी कामले केही चहलपहल बढे पनि समग्र पर्यटन अझै माथि उठ्न नसकेको होटल व्यवसायी महासंघका पर्यटन सचिव परमानन्द भण्डारीले दिनेशखबरलाई बताए। 'अहिले राजधानी र सदरमुकाममा मात्रै सरकारी कामले मान्छे आउने भएकोले होटेलमा केही चहलपहल भएको छ,' उनले भने, 'धनगढी बाहेकका क्षेत्रमा होटलहरू अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्।'

सुदूरपश्चिममा कोभिडले थला परेको पर्यटन व्यवसाय चलायमान हुने संकेत देखिएकोले होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। तर सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार नहुँदा प्रदेशको समग्र पर्यटन व्यवसाय फस्टाउन नसकेको पर्यटन व्यवसायी भण्डारीले बताए। 'सुदूरपश्चिममा धार्मिक तथा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना रहेको छ,' उनले भने, 'स्वदेश तथा विदेशमा यहाँका पर्यटकीय गन्तव्यको प्रचार हुन सके पर्यटन क्षेत्रले फड्को मार्थ्यो।'

प्राकृतिक सुन्दरता र धार्मिक पर्यटनका हिसावले सुदूरपश्चिमका सबै जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको व्यवसायीले बताएका छन्। पर्यटकीय गन्तव्यको स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार हुनुपर्ने पर्यटन व्यवसायीले बताएका छन्। पछिल्लोसमय सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा पनि पर्यटक बढ्न थालेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस