सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भ्यू टावर बनाउन १० करोड बढी खर्च हुँदै, कहाँ–कहाँ बन्दैछन् ?

भ्यू टावर बनाउने होडबाजी 

कञ्चनपुरको वेदकोटमा बनेको भ्यू टावर बायाँ र दार्चुलाको दुहुँ गाउँपालिकामा निर्मित टावर दायाँ ।
कञ्चनपुरको वेदकोटमा बनेको भ्यू टावर बायाँ र दार्चुलाको दुहुँ गाउँपालिकामा निर्मित टावर दायाँ ।
२०७८ चैत्र १६, ०५:४५ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः समुद्री सतहबाट १ हजार ७ सय मिटर उचाइमा रहेको बाजुराको बुढीगंगा नगरपालिका–४ बार्जुकोट दरबार क्षेत्रमा भ्यू टावर निर्माण भइरहेको छ। बूढीगंगा र त्रिवेणी नगरपालिकाका सबै स्थान र पर्यटकीयस्थल बडिमालिकाको दृश्यावलोकन गर्न सकिने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख विनियोजन गरेर उक्त भ्यू टावर निर्माणको काम अघि बढाएको हो। 

त्यस्तै दार्चुलाको दुहुँ गाउँपालिकाले मानवस्ती नै नभएको स्थानमा करिब ४० लाख खर्चेर भ्यू टावर निर्माण गरेको छ। दार्चुलाकै महाकाली नगरपालिकाले पनि १० लाख विनियोजन गरेर भ्यू टावर निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। पुल, सडक, सिँचाई लगायतका योजना भन्दा यी पालिकाहरुले भ्यू टावरका योजनालाई प्राथमिकतामा राख्दै आएका हुन्। 

आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्न मानव बस्ती नभएको दुहुँ गाउँपालिकाको वडा नम्वर २ मा भ्यू टावर निर्माण गरेर सञ्चालनमा ल्याएको सूचना अधिकारी वीरेन्द्र जोशीले बताए। ‘गाउँपालिका आफैँले लगानी गरेर ५ तले पक्की भ्यू टावर निर्माण गरेर सञ्चालनमा ल्याएको छ’ उनले भने। 

दुहुँ गाउँपालिकाद्बारा नव निर्मित शिद्बटोपी भ्यू टावर दुहुँ गाउँपालिका वडा नं २ हिकिला

यता कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मै झिलमिला क्षेत्रमा भ्यू टावर बनाउन ७८ लाखको गुरुयोजना तयार पारेको थियो। जंगल क्षेत्र रहेको पहाडी भू–भागमा निर्माण हुने टावरको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी काम हुन नसक्दा निर्माण कार्य अघि बढ्न सकेको छैन। कञ्चनपुरकै दोधारा–चाँदनी नगरपालिकाले वडा नम्बर ४ मा भ्यू टावर बनाउन ३ करोड ५० लाखको योजना अनुसार काम भइरहेको छ। त्यहाँका लागि डिजाइन इस्टिमेट गरेर प्रदेश सरकारसँग बजेट समेत माग गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्र भन्छन्, ‘साढे तीन करोड लगानी रहेको भ्यू टावर निर्माणका लागि ५० लाख विनियोजन भएर अहिले काम भइरहेको छ।’

यस्तै कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ कम्पासेधुरामा पनि पर्यटन विभागले निर्माण गर्ने भ्यू टावरको लागत २ करोड छ। सुुरूमा १ करोड ७० लाख अनुमान गरिएकोमा लागत २५ प्रतिशतले बढ्ने आकलन गरिएको छ। त्यस्तै कैलालीकै कैलारी गाउँपालिका वडा नम्बर १ मा भ्यू टावर बनाउन प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले १० लाख विनियोजन गरेको छ। 

कञ्चनपुरको वेदकोट नगरपालिकाले भने आर्थिक वर्ष २०७४/७५ मै वेदकोट ताल क्षेत्रमा ७० लाख खर्चर ६ तले भ्यू टावर निर्माण गरिसकेको छ। भ्यू टावर वेदकोट ताल क्षेत्रको सहज अवलोकनका लागि बनाइएको नगरपालिकाकाको दाबी छ। संघ सरकारले यसअघि नै बजेट विनियोजन गरेर आफूहरुले निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको नगरपालिकाका नगरप्रमुख अशोक चन्दले बताए। ‘वेदकोटमा भ्यू टावर निर्माणका लागि संघ सरकारले बजेट विनियोजन गरेको थियो, नगरपालिकाले निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको हो’ उनले भने। 

यसरी सुदूरपश्चिममा भ्यू टावरको नाममा १० करोड २० लाख खर्च हुँदैछ। प्रदेशको भू–बनोट प्राकृतिक टावर जस्तै भएकोले अग्ला–अग्ला डाँडा आफैंमा टावर जसरी उभिएका छन्। तर तिनै डाँडामाथि फेरि अर्को टावर ठड्याउने तीन तहकै सरकारको रुचि आफैँमा बुझिनसक्नु छ। 
 

कमेन्ट लोड गर्नुस