त्रिवि सेवा आयोगका प्राध्यापक डाक्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौंः त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अधिकारीले परीक्षाको परिणाम फेरबदल गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर भएको छ। त्रिवि सेवा आयोगको कार्यालयका प्रा.डा. टेकनाथ ढकालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
त्रिवि सेवा आयोगको कार्यालय त्रिविबाट २०७३ फागुन १८ मा प्रकाशित विज्ञापन नं. १८-०७३-०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरेको आरोप लागेको छ।
उनीहरुले सक्षम र उत्कृष्ट उम्मेदवारहरुलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता भएको, प्राप्ताङक केरमेट गरेको, अंक थपघट गरी नतिजा फेरबदल गरेको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ।
उजुरी पश्चात छानविन गर्ने क्रममा परीक्षकहरूले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने पाइएको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो।