कञ्चनपुरको कृष्णपुरका जनप्रतिनिधिले भगवानलाई पनि ठगे !
स्थानीय तह समीक्षा
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेबाट कर्णबहादुर हमाल र उपप्रमुखमा रमिता राना विजयी भएको ५ वर्ष पुग्नै लागेको छ। उनीहरुको घोषणा पत्रमा राधा–कृष्णको मूर्ति बनाउने भनेर उल्लेख थियो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनीहरुले कैलाली–कञ्चनपुरको सिमानामा रहेको श्रीकृष्ण कर्णाली धाममा ५५ फिटको राधा–कृष्णको मूर्ति बनाउने योजना पार्टीको घोषणा पत्रमा राखेका थिए। तर उनीहरुको योजना हालसम्म पूरा भएको छैन। उनीहरुमाथि भगवानका नाममा समेत ठगी गरेको आरोप लागेको छ।
घोषणा पत्र अनुसारका केही कुरा पनि कुरा भएका छैनन्। पहिले उक्त नगरपालिकाको प्रमुखमा पराजित भएका तथा आउदो निर्वाचनमा नेपाली कांग्रेसबाट प्रमुख पदका आकांक्षी हेमराज ओझाले भने, ‘कैलाली–कञ्चनपुरको सिमानामा पर्ने श्रकृष्ण कर्णाली धाममा ५५ फिटको मूर्ति बनाउने घोषणा पत्रमा राख्यो। मन्दिर समितिले मलाई पनि राख्न भन्नुभयो। मैले रकम सोध्दा एक करोड ५० लाख मूर्तिको ज्याला मात्र लाग्छ भनिएको थियो। तर नगरपालिकाले झण्डै ५ करोड मन्दिरमा खर्च गर्न सकिँदैन भन्यो। भगवानको नाममा ठगी भएको छ।’
यसैगरी कृष्णपुर नगरपालिका पार्टीगत विकासमा केन्द्रीत भएको आरोप लागेको छ। जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्षमा नगरपालिकाले आफ्ना कार्यकर्ता भएको क्षेत्रमा मात्रै काम गरेको आरोप लागेको हो। उनीहरुले एमालेबाट निर्वाचित वडाबाहेक अन्य पार्टीबाट विजयी वडाहरुको विकासमा उपेक्षा गरेको बताइएको छ। नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार जगराज चौधरीले जनप्रतिनिधिको काम चित्त नबुझेको बताए। ‘हाम्रो चित्त बुझेको छैन। हाम्रो नियमित वर्ष–वर्षको बजेट फ्रिज गयो। नगरपालिकामा नराम्रा काण्डहरु भए भनेर जनताहरु भन्छन्’ उनले भने।
उनले कृष्णपुर नगरपालिकामाथि स्थानीय तहको मूल्यांकनमा अन्तिममा परेको, करोडौं रकम बेरुजु रहेको, ठूला योजनाहरु कार्यान्वयन गर्न नसकेको, पुस मसान्तसम्म संघीय सरकारलाई बजेट माग गर्न नसकेको लगायतका आरोप लगाएका छन्। ‘वडा तहका केही जनप्रतिनिधिको काम ठिकै देखिएको छ। नगरपालिकाले गर्नुपर्ने काम निराशाजनक छ। मेयरले काण्डै–काण्ड गरे’ जगराज चौधरीले थपे।
नगरप्रमुख भन्छन्– ९८ प्रतिशत काम गरिसक्यौं
कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमालले भने प्रतिपक्षको आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। ‘स्थानीय तहको निर्वाचनपछि थुप्रै सम्वृद्धिका योजनाहरु अगाडि बढेका छन। हामीसँग स्रोत साधान र कर्मचारी, बजेटको अभाव, प्रदेश र संघीय सरकारसँगको सम्वनयको अभाव थियो। हामीले विपदको सामाना गरेका छौं’ उनले भने, ‘तर पार्टीको घोषणा पत्र अनुसार ९८ प्रतिशत काम पूरा गरेका छौं। २ प्रतिशत योजनाहरु कर्मागतमा राखेका छौं। केही योजनाहरु प्रक्रियामा छन्।’
उनले नगरपालिकाको भवन, ६ वडा कार्यालयहरु, खानेपानी, आधारभूत स्वास्थ्यका भवन लगायतको काम गरेको बताए। शिक्षामा एक वडा एक नमुना विद्यालयको अवधारण सुरु गरिएको समेत उनले बताए। त्यस्तै युवाहरुका लागि एक वडा एक खेल मैदानको काम थालिएको, कृषिमा एक वडा एक नमुना कृषिको कार्यक्रम थालिएको र कृषिको व्यवसायीकरणका लागि नीतिगत सुधार गरिएको उनले दाबी गरेका छन्।