जर्नेलले छोरालाई बर्दी भिराएर टिकटक बनाउन लगाएपछि...
धनगढीः भूतपूर्व एक तारे जर्नेल धर्म बानियाँले उमेर नपुगेको छोरालाई आफ्नो बर्दी भिराएर टिक टक बनाउन लगाएका छन्। सेनाजस्तो संवेदनशील सुरक्षा निकायको उपल्लो तहबाट अवकाशप्राप्त अधिकारीले आफ्नो बर्दी अरुलाई लगाउन दिनु नै गम्भीर अपराध हुने सैनिक अधिकारीहरु बताउँछन्।
बानियाँको किशोर उमेरका छोराले जर्नेल पिताको पूर्ण पोशाक लगाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उक्त विषयमा बहस शुरु भएको छ। सुरक्षा निकायका कर्मचारी र अधिकारीहरु सेवानिवृत्त भए पनि पदीय दायित्य पूरा गर्ने क्रममा पाएका पोशाक,फुली र तक्माको हिफाजत गर्ने प्रमुख जिम्मेवारी सम्बन्धित व्यक्तिको भएको हो। बानियाँका छोराले पोशाक लगाउँदै हालेको फोटोमा लेखेका छन्, ‘सेनाका निकै आदरणीय जर्नेलहरुमध्येमा पर्नुहुने मेरा पिता धर्म बानियाँको छोरो हुन पाउँदा गौरवान्वित ठानेको छु।’
यससम्बन्धमा नेपाली सेनाका एक जना भूतपूर्व दुई तारे जर्नेलले भने,‘यस्तो गर्न दिने उनका पिताको नैतिक अपचलन भएको मानिन्छ। उनले नैतिक दायित्व वहन गरेको देखिएन। उमेर नपुगेका छोराछोरीलाई राज्यको सबैभन्दा महत्वपूर्ण निकायले उपलब्ध गराएको पोशाक लगाएर गाईजात्रा देखाउन दिनु ठूलो दोष हो।’