सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको प्याराताल सरसफाइमा भारतीय एसएसबीको अवरोध

२०७८ चैत्र १२, ०७:३२ खबर संवाददाता

कञ्चनपुर : लामो समयदेखि जलकुम्भीका कारण कुरुप देखिएको कञ्चनपुरको पुनर्वासस्थित प्राकृतिक प्याराताल सरसफाइको काममा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध सिर्जना गरेको छ। 

करिब एक महिना अघिदेखि पुनर्वास नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत तालको जलकुम्भी हटाउने कार्य गरिरहेकोमा बिहीबार भारतीय एसएसबीले अवरोध सिर्जना गर्न पुगेको पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले जानकारी दिए। वडा कार्यालयले सीमा स्तम्भ नम्बर १९५ देखि झण्डै ३ सय मिटर नेपालतर्फ रहेको प्राकृतिक प्यारातालमा अनावश्यक रुपमा फैलिएको जलकुम्भी सफा गराउन दैनिक ज्यालादारीमा स्थानीयहरुलाई काममा लगाएको वडाध्यक्ष जैशीले बताए। 

तालमा पूर्ण रुपले नेपालको अधिकार भएको नेपाल-भारत सीमा स्तम्भ नम्बर १९५ ले पुष्टि गरिरहे पनि भारतले बारम्बार हस्तक्षेप गर्नु बलमिच्याइ भएको वडा अध्यक्ष जैशीको भनाई छ। तालभन्दा पारी अवस्थित १९५ नम्बरको सीमा स्तम्भका आधारमा प्याराताल नेपालकै भए पनि भारतले पटकपटक हस्तक्षेप गर्दै आएको स्थानीय बताउँछन्। 

स्थानीय शिक्षक भविश्वर अर्याल भन्छन्, 'प्याराताल दस्तावेजका आधारमा नेपालकै हो। तर पनि भारतले पटकपटक हस्तक्षेप गर्दै आएको छ,' उनी भन्छन्, 'पटकपटक भारतीय पक्षबाट हुँदै आएको यो हस्तक्षेप रोकेर सीमाको विवाद सल्टाउन सरकारले पहल गर्नु पर्दछ।'

यसअघि २०६० सालमा समेत भारतले सीमा स्तम्भ नम्बर १९५ लाई बेवास्ता गर्दै प्यारातालसहित झन्डै ५०० बिगाहा बढी नेपाली भूभाग आफ्नोतर्फ पार्न रातारात पिल्लर गाड्ने काम गरेको थियो। स्थानीय जनताले अतिक्रमणको विरोध गरेपछि विवाद मत्थर भएको थियो। 

प्रष्ट रुपमा नेपालकै ताल हो भन्ने थाहा हुँदाहुँदै पनि नेपाल सरकार भने भारत सामु हाम्रो ताल हो भनी खुलेर बोल्न सक्ने अवस्थामा देखिन्छ। सरकारले यसको संरक्षण र प्रवर्द्धन गर्न नसकेकै कारण तालमाथी भारतीय पक्षबाट बेलाबेलामा हस्तक्षेप हुँदै आएको स्थानीयहरुको आरोप छ।

कमेन्ट लोड गर्नुस