कैलाली र कञ्चनपुरमा क्षयरोगका बिरामी बढी
धनगढी : सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा क्षयरोगका बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ। अवसरवादी संक्रमणको रुपमा रहेको क्षयरोग धुम्रपान, मद्धयपान, बुढ्यौली र कुपोषणका कारण हुने गरेको छ। मुख्यतया दुई प्रकारको क्षयरोग हुने भए पनि ८० प्रतिशत क्षयरोग फोक्सोमा लाग्ने र २० प्रतिशत शरीरका अन्य भगमा हुने बताइएको छ।
सुदूरपश्चिम प्रदेशमा ६ हजार ६५४ जना क्षयरोगका बिरामी रहेको अनुमान गरिएको छ। तर चालू आर्थिक वर्षको अर्धवार्षिक तथ्याङ्कमा १ हजार ६०६ जना बिरामी मात्रै उपचारका लागि स्वास्थ्य संस्थामा आएको तथ्याङ्क प्रदेश स्वास्थ्य निर्देशनालयको छ। सुदूरपश्चिममा आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार १४८ क्षयरोगी फेला परेकोमा आर्थिक वर्ष २०७६/०७७ मा २ हजार ७३६ थिए भने आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ८२३ जना क्षयरोगी रहेको तथ्याङ्क स्वास्थ्य निर्देशनालय दीपायलको छ।
सुदूरपश्चिम प्रदेशको सबै जिल्लामा क्षयरोगी भए पनि कैलाली र कञ्चनपुरमा मात्रै ६० प्रतिशत बिरामी रहेको स्वास्थ्य निर्देशनालय दीपायलका क्षयरोग सम्पर्क व्यक्ति मनोज ओझाले दिनेशखबरलाई बताए। 'केही वर्षयता क्षयरोगका विरामी घटेको देखिन्छ,' उनले भने, 'कैलाली र कञ्चनपुरमा ६० प्रतिशत बढी क्षयरोगका विरामी छन्। विरामी सबै उपचार गर्न नआएको अनुमान गर्न सकिन्छ।'
क्षयरोगबाट महिलाको तुलनामा पुरुष बढी संक्रमित हुने गरेका छन्। ६७ प्रतिशत पुरुषमा क्षयरोग हुँदा महिलामा भने ३३ प्रतिशत मात्रै संक्ररमण हुने गरेको छ। चालू आर्थिक वर्षको अर्धवार्षिक तथ्याङ्कमा कैलालीमा ६८१ जना, कञ्चनपुरमा ३८३, बैतडीमा ९१, बझाङमा ८८, डोटीमा ८०, अछाममा ७८, बाजुरामा ७७, डडेल्धुरामा ७३ र दार्चुलामा सबैभन्दा कम ५५ जना क्षयरोगी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। क्षयरोग एक सरुवा रोग भएको र यो रोगका बिरामीले निःशुल्क निदान र उपचार सेवा प्रदेशका ५६३ डट्स सेन्टर, १८० माइक्रोस्कोपी सेन्टर, ९ वटा जिन एक्सपर्ट साइट र ५ वटा ड्रग रेसिस्टेन्स टिवी सेन्टरबाट पाउने गरेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।
सुदूरपश्चिममा सेती र महाकाली प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, अछामको बयलपाटा अस्पताल र कैलालीको श्रीपुरमा रहेको लक्ष्मीनारायण प्रेषण केन्द्रमा जटिल खालको क्षयरोगको उपचार हुने गरेको छ। क्षयरोगीको घरका सबै व्यक्तिको खोजपडताल गर्ने र हिजोसम्म क्षयरोगी रहेको समुदायमा गएर परीक्षण गरेर रोगको संक्रमण भए नभएको पत्ता लगाउने गरेको र सबै किसिमको परीक्षण र उपचार निःशुल्क रहेको स्वास्थ्य निर्देशनालय दीपायलका निमित्त निर्देशक डाक्टर जगदिश जोशीले दिनेशखबरलाई बताए।
'सबै क्षयरोगीको पहिचान गरेर उपचारमा ल्याउन सकिएको छैन,' उनले भने, 'प्रदेशभर रहेका सबै स्वास्थ्य संस्थामा क्षयरोगको निःशुल्क निदान र उपचार हुने गरेको छ।' दुई हप्ता वा सोभन्दा लामो समयसम्म खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खाना खान मन नलाग्नु, तौल घट्नु, छाती दुख्ने र खकारमा रगत देखिने जस्ता लक्षण देखिए क्षयरोग हुन सक्ने भएकोले तुरुन्त उपचार गर्नुपर्ने बताइएको छ।