मन्त्री खतिवडाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको अनुगमन
भक्तपुर: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासहितको टोलीले आज मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको अनुगमन गरेका छन्। मन्त्री खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश सदस्य एवं भक्तपुर जिल्ला कमिटी अध्यक्ष श्यामसुन्दर बस्नेतलगायतको टोलीले अस्पतालको अनुगमन गरेका हुन्।
सो अवसरमा टोलीले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग, अन्तरङ्ग, ल्याब, प्रसूति वार्ड, आइसियु, एनआइसियुलगायत कक्षको अनुगमन गर्नुको साथै अस्पतालको सेवाका बारेमा लिएको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालको सेवा, विगतको अवस्था, अहिलेको अवस्था, बीमा सेवा बन्द हुँदाको अवस्था, यहाँबाट दिने सेवालगायत बारेमा मन्त्री खतिवडालाई जानकारी गराएका थिए।
अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि स्थानीयले भक्तपुर अस्पताल पुग्नुपर्ने बाध्यता छ। अस्पतालले एमआरआइ, मुटुको क्याथ ल्याबलगायत अत्यावश्यक सेवा सञ्चालनको तयारी गरिरहेको छ।