दशरथ रंगशालाको कार्यक्रमका लागि सलमानले ४ करोड ८० लाख पारिश्रमिक लिने
काठमाडौंः काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन्। जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमानले यो पारिश्रमिक लिने आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाएको छ।
ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन्। जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ हिस्सा लिनेछन्। सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहनेछ।
सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायत नेपाल आउनेछन्। नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको भ्रमण गराउने तयारी छ।