साविक विजेता ऐश्वर्य र साविक उपविजेता कैलाली विद्या निकेतनको विजयी सुरुवात
क्यास्पीयन कप आजदेखि धनगढीमा सुरु
कलिला क्रिकेटर उत्पादनका लागि बर्षेनी गरिदैं आईएको क्यास्पीयन कपको छैठौं संस्करण आजदेखि धनगढीमा सुरु भएको छ । कैलाली वहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आज भएका खेलमा साविक विजेता ऐश्वर्य विद्या निकेतन र साविक उपविजेता कैलाली विद्या निकेतले विजयी सुरु गरेका छन् ।
आज भएको उद्घाटन खेलमा ऐश्वर्यले शारदा मावि वैयावेहडीलाई २८ रनले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको ऐश्वर्यले निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा ९३ रन बनायो । ऐश्वर्यका लागि धिरेन्द्र मल्लले २४ रन र केशव शाहीले अविजित १९ रन बनाए । शारदाका लागि गौरव कार्की र निखिल ओलीले २÷२ विकेट लिए । ९४ रनको विजय लक्ष्य सहित मैदान उत्र्रिएको शारदाले निर्धारित १० ओभरमा ४ विकेटको क्षतिमा ६५ रन मात्रै बनाउन सक्यो । शारदाका लागि रविन्द्र रोकायाले अविजित १७ र जीवन अछामीले १७ रन बनाए । ऐश्वर्यका लागि सुरेन्दै धामीले २ विकेट लिए ।
आज नै भएको अर्को खेलमा कैलाली विद्या निकेतले आयोजक क्यास्पीयन एकेडेमीलाई ३१ रनले हरायो । कैलाली विद्या निकेतनले पहिले व्याटिङ गर्दै १० ओभरमा ७ विकेट क्षतिमा ८२ रन बनायो । सो पारीमा निल शाले १५ र शरिस सिराडीले १४ रन बनाए । ८३ रनको विजय लक्ष्य सहित मैदान उत्र्रिएको क्यास्पीयनले भने निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ५१ रन मात्रै बनाउन सक्यो । क्यास्पीयनका लागि रिकेश लामिछानेले एक्लै ३० बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । क्यास्पीयनका चार जना खेलाडी शुन्यमा आउट भए । कैलाली विद्या निकेतनका अशोक वुढा र मुकेश शाहले २÷२ विकेट लिए । प्रतियोगिता अन्तर्गत भोली लिग चरणका चार खेल हुनेछन् । माघ २१ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले ३१ हजार र उपविजेताले १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक तपराज विनाडीले जानकारी दिए ।